१० असार, जनकपुरधाम । मधेश प्रदेश सरकारको बजेटमाथिको छलफल अनिश्चितकालका लागि स्थगित भएको छ। बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक दिउँसो १२ बजे नै स्थगित भएको सूचना जारी गरिएको हो।
छोटो छलफल र सभामुखको निर्णय
बजेटमाथिको छलफल हिजो मात्रै सुरु भएको थियो। तर, छलफलमा प्रतिपक्षका सांसद रामआशिष यादव र सत्तापक्षीय रमिता प्रधानले मात्र भाग लिएका थिए। अन्य सांसदहरूले छलफलमा भाग नलिएपछि सभामुख रामचन्द्र मण्डलले बैठक स्थगित गरेका थिए। सभामुखले सांसदहरूले रेडबुकको अध्ययन नगरेको भन्दै बिहीबार १ बजेसम्मका लागि बैठक स्थगित गरेको घोषणा गरेका थिए। पहिलो दिनको बैठक जम्मा २३ मिनेट २१ सेकेन्ड मात्र चलेको थियो।
प्रतिपक्षीको आरोप र बहिष्कारको घोषणा
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामआशिष यादवले सभामुखले अचानक बैठक अनिश्चितकालका लागि स्थगित गरेर सरकारको कठपुतली बनेको आरोप लगाएका छन्। उनले सरकार र सभामुखको कामप्रति आपत्ति जनाउँदै अब हुने बजेटमाथिको छलफल बहिष्कार गर्ने बताएका छन्। उनले बजेटमा बिचौलियालाई प्राथमिकता दिएको गुनासो गरेका छन्।
नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक कनिश पटेलले पनि सभामुख र सरकारले ुरवैयाु अपनाएको भन्दै आपत्ति जनाएका छन्। उनले सभामुखले संसदीय अभ्यास विपरीत सदनलाई कसैको इशारामा बन्दी बनाएको तर्क गर्दै नियमित सत्र सरकारले रोक्न नपाउने बताएका छन्।
आगामी बजेट छलफलमा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल संघीय समाजवादी पार्टीले बहिष्कार गर्ने तयारी गरेका छन्।














