८ भदौ, काठमाडौं । इजरायलमा प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको रिहाइका लागि नेपालको शीर्ष नेतृत्वसँग पहल गर्न उनकी आमा र बहिनी सक्रिय भएका छन् । इजरायलबाट फर्केलगत्तै उनीहरूले प्रधानमन्त्री, राष्ट्रपति लगायतका नेताहरूसँग भेटघाट तीव्र पारेका हुन्।
राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीलाई भेट
आइतबार बिहान विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरे। भेटका क्रममा उनीहरूले विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका थिए। जवाफमा राष्ट्रपति पौडेलले यस विषयमा आफूले थप प्रयास गर्ने आश्वासन दिएका छन् । यसअघि, शनिबार उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटेर विपिनको रिहाइका लागि सरकारले गर्नुपर्ने प्रयासबारे ध्यानाकर्षण गराएका थिए।
अन्तर्राष्ट्रियस्तरमा दबाब
इजरायलमा रहँदा पदमा र पुष्पा जोशीले त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न देशका राजदूतहरूसँग भेटेर विपिनको रिहाइलाई अन्तर्राष्ट्रियकरण गरेका थिए। उनीहरूले आफ्नो छोरा निर्दोष विद्यार्थी भएको र मानवीय दृष्टिकोणबाट उनको रिहाइको पहल हुनुपर्नेमा जोड दिएका छन् ।
नेपालको शीर्ष नेतृत्व र अन्तर्राष्ट्रिय समुदायको पहलले विपिनको शीघ्र रिहाइ हुनेमा परिवारले आशा व्यक्त गरेको छ। यो खबरले विपिनको सकुशल घरफिर्तीको पर्खाइमा रहेका सबै नेपालीलाई केही हदसम्म भए पनि आशा जगाएको छ।















