Logo

१९ फागुन, वीरगञ्ज । आज फागुन १९ गते पूर्णिमाको दिन आकाशमा विरलै देखिने खगोलीय दृश्यका रूपमा खग्रास चन्द्र ग्रहण लाग्दैछ । ज्योतिषीय गणना र खगोलीय तथ्य अनुसार यो ग्रहण आज साँझ ६ बजेर ३ मिनेटमा सुरु भई ७ बजेर २ मिनेटसम्म कूल १ घण्टा ५ मिनेटको अवधि रहनेछ ।

सूर्य र चन्द्रमाको बीचमा पृथ्वी पर्दा पृथ्वीको छाया चन्द्रमामा देखिने प्राकृतिक प्रक्रियालाई चन्द्र ग्रहण भनिन्छ। आज लाग्ने ग्रहणमा चन्द्रमा पूर्ण रूपमा पृथ्वीको छायाले ढाकिने भएकाले यसलाई ‘खग्रास चन्द्र ग्रहण’ भनिएको खगोलविद्हरूले बताएका छन्। ग्रहणको पूर्ण मोक्ष (समाप्ति) भने आज राति २ बजेर ३८ मिनेटमा हुनेछ।

शास्त्रीय मान्यता अनुसार चन्द्र ग्रहण लाग्नु भन्दा ९ घण्टा अगाडिदेखि नै ‘सुतक काल’ सुरु हुने भएकाले यस अवधिमा कुनै पनि शुभ कार्य नगर्न सल्लाह दिइएको छ । सुतक लागेपछि र ग्रहणको अवधिभर खानपिन नगर्ने, भजन कीर्तन गर्ने र आध्यात्मिक चिन्तनमा लाग्ने सनातन परम्परा रहिआएको छ । ग्रहणलाई वैज्ञानिक रूपमा एक सामान्य खगोलीय घटना मानिए तापनि पूर्वीय दर्शनमा यसलाई मानवीय संवेग र सामाजिक अन्तरक्रियासँग जोडेर हेर्ने गरिन्छ ।

ग्रहणको समाप्तिपछि पवित्र नदी वा तीर्थस्थलमा स्नान गरी दानपुण्य गर्ने चलन छ, जसले मनमा शान्ति र सकारात्मक ऊर्जा सञ्चार गर्ने जनविश्वास छ ।

आजको यस चन्द्र ग्रहणले समाजमा रहेका अशान्ति र असहिष्णु तत्वहरूको नाश गरोस् भन्ने कामना गरिएको छ । स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीहरूको जीवनमा चन्द्रमाको शीतलता र सुखशान्ति छाओस् भन्दै देशका विभिन्न शक्तिपीठहरूमा विशेष पूजा अर्चनाको तयारी समेत गरिएको छ ।


सम्बन्धित समाचार
भर्खरै