Logo

९ साउन,काठमाडौं । फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण दुई लाख ८० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। आगो तीव्र रूपमा फैलिँदै गएपछि बिहानको तुलनामा मात्र करिब ६० हजार थप मानिस विस्थापित भएका छन्।

दक्षिण–पश्चिम फ्रान्सको जिरोन्ड र ल्यान्ड्स क्षेत्रमा मात्रै झण्डै दुई लाख मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। त्यस्तै, बोर्डो नजिकका चार सहर खाली गराइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ।

स्पेनको राजधानी मड्रिडनजिकै लागेका तीनवटा डढेलो एकआपसमा मिसिएपछि आगो नियन्त्रण चुनौतीपूर्ण बनेको छ। अग्निनियन्त्रकहरूले आगो नियन्त्रण आफ्नो क्षमताभन्दा बाहिर गएको बताएका छन्। परिस्थितिको गम्भीरतालाई मध्यनजर गर्दै स्पेन सरकारले राष्ट्रिय आपत्काल घोषणा गरेको छ।

डढेलो नियन्त्रणका लागि युरोपेली संघ (ईयू) ले फ्रान्स र स्पेनमा विमान तथा हेलिकोप्टर परिचालन गरेको छ। दक्षिणी युरोपका अधिकांश क्षेत्रमा जारी भीषण गर्मी र लामो खडेरीका कारण डढेलो नियन्त्रणमा कठिनाइ भइरहेको जनाइएको छ।

विज्ञहरूका अनुसार अत्यधिक गर्मी र सुख्खा मौसमका कारण वनस्पतिमा आर्द्रता घट्दा जंगलमा आगो लाग्ने र तीव्र रूपमा फैलिने जोखिम बढेको छ। युरोपेली वन अग्नि सूचना प्रणालीका अनुसार यस वर्ष युरोपमा डढेलोबाट जलेको क्षेत्रफल पछिल्ला दुई दशकको वार्षिक औसतभन्दा उल्लेखनीय रूपमा बढी रहेको छ।

जलवायु परिवर्तनका कारण युरोप विश्वमै सबैभन्दा तीव्र रूपमा तापक्रम वृद्धि भइरहेको महादेशमध्ये एक बनेको छ। सन् १९८० को दशकयता यहाँको तापक्रम विश्वव्यापी औसतको तुलनामा दोब्बरभन्दा बढी दरले बढ्दै गएको तथ्यांकले देखाएको छ।


सम्बन्धित समाचार