९ साउन,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन र सत्ता सहकार्यका विषयमा भएको सहमतिअनुसार दुई प्रदेशको नेतृत्वबारे भने अझै टुंगो लाग्न बाँकी रहेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार भएको लिखित सहमतिमा पाँच वटा प्रदेशको नेतृत्व बाँडफाँट गरिएको छ। तर गण्डकी र मधेस प्रदेशमा सरकार गठनका विषयमा भने अन्य दलहरूसँग समेत छलफल गरेर निर्णय गर्ने सहमति भएको छ।
सहमति अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व नेकपा एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले गर्नेछ।
गण्डकी र मधेस प्रदेशमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमतिपत्रमा उल्लेख छ।
दुई दलले प्रदेशसभामा देखिएका राजनीतिक असमझदारी समाधान गर्दै स्थिरता, सहकार्य र विकासलाई अघि बढाउने उद्देश्यले संयुक्त सरकार गठन गर्ने निर्णय गरेका हुन्।




















