९ साउन,सिम्रौनगढ । मिटर ब्याजसम्बन्धी सरकारले ल्याएको निर्णयको विरोध गर्दै बाराको सिम्रौनगढमा साहु–महाजनहरूको बृहद् भेला सम्पन्न भएको छ। सिम्रौनगढस्थित कंकाली मन्दिरको प्राङ्गणमा आयोजित उक्त भेलामा सिम्रौनगढ नगरपालिका र पचरौता नगरपालिकाका करिब १०० जना साहु–महाजनहरूको सहभागिता रहेको थियो।
स्थानीय साहु सञ्जय कुमार कुशवाहाको अध्यक्षतामा सम्पन्न भेलाले सरकारले ल्याएको मिटर ब्याजसम्बन्धी नियमले प्रचलित कानुनको मर्मविपरीत साहु–महाजनहरूको सम्पत्ति जफत गर्ने उद्देश्य राखेको आरोप लगाउँदै उक्त निर्णयप्रति असन्तुष्टि जनाएको छ। भेलामा सहभागीहरूले सरकारसँग निर्णय पुनर्विचार गरी सबै पक्षलाई न्याय हुने गरी कानुनी व्यवस्था गर्न माग गरेका छन्।
भेलाले आफ्ना अधिकार र मागलाई संगठित रूपमा अघि बढाउन ‘साहु पीडित लेनदेन संघर्ष समिति’ गठन गरेको छ। साथै, आगामी भदौ ११ गते प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरिएको छ।
गठित समितिको अध्यक्षमा भरत कुमार सिंह, उपाध्यक्षमा कुन्दन कुमार कुशवाहा, कोषाध्यक्षमा मौजेलाल जयसवाल, सह–कोषाध्यक्षमा सञ्जय कुमार कुशवाहा, सचिवमा रामेश्वर प्रसाद यादव तथा सह–सचिवमा जोगी साह चयन भएका छन्।
त्यसैगरी समितिका सदस्यहरूमा रबिशंकर प्रसाद कुशवाहा, रामानन्द साह, रुपेश साह कलवार, सोनालाल प्रसाद कुशवाहा र प्रमोद साह कलवारलगायत रहेका छन्।
भेलामा सहभागीहरूले मिटर ब्याजसम्बन्धी सरकारी निर्णयले साहु–महाजनहरूको हकहितमा प्रतिकूल असर पार्ने दाबी गर्दै सरकारसँग सबै पक्षको हितलाई ध्यानमा राखी न्यायोचित समाधान निकाल्न आग्रह गरेका छन्।



















