९ साउन,काठमाडौं । काभ्रेको धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टमा स्वीमिङ पुलमा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ।
प्रहरीका अनुसार शुक्रबार साँझ पौडी खेलिरहेका काठमाडौंको चन्द्रागिरी निवासी २९ वर्षीय डेनिस प्रधान स्वीमिङ पुलमै मृत फेला परेका हुन्। प्रारम्भिक अनुसन्धानमा स्वीमिङ पुलमा करेन्ट सट भएपछि उनको मृत्यु भएको आशंका गरिएको प्रहरीले जनाएको छ।
घटनापछि मृतकका आफन्तले रिसोर्ट व्यवस्थापनको लापरबाहीका कारण दुर्घटना भएको आरोप लगाएका छन्। घटनालाई लिएर पीडित पक्ष र रिसोर्ट व्यवस्थापनबीच छलफल भइरहेको बताइएको छ।
प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।