Logo

९ साउन,वीरगञ्ज । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि अनुसन्धान, प्रविधि हस्तान्तरण र प्राङ्गारिक खेतीलाई प्राथमिकतामा राख्दै कम्तीमा १० वटा पालिकामा नमूना कृषि कार्यक्रम सञ्चालन गर्ने बताएकी छन्।

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवसँगको शिष्टाचार भेट तथा संघ–प्रदेश समन्वयसम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री चौधरीले किसानको खेतसम्म प्रत्यक्ष सेवा पुर्‍याउने उद्देश्यसहित नमूना कार्यक्रम लागू गर्न लागिएको जानकारी दिइन्।

उनले कृषि क्षेत्रमा नीति निर्माणसँगै कार्यान्वयन पक्षलाई विशेष प्राथमिकता दिनुपर्ने बताउँदै अनुसन्धानबाट प्राप्त उपलब्धि किसानको खेतसम्म पुर्‍याउन एकीकृत कार्यक्रम आवश्यक रहेको उल्लेख गरिन्।

मन्त्री चौधरीका अनुसार छनोट गरिएका पालिकामा कृषि उत्पादन वृद्धि, प्राविधिक सेवा, किसान तालिम, परामर्श तथा आधुनिक प्रविधि हस्तान्तरणमा जोड दिइनेछ।

उनले प्राङ्गारिक खेती प्रवर्द्धन गर्दै माटोको उर्वराशक्ति संरक्षण, सुरक्षित खाद्य उत्पादन र दिगो कृषि प्रणाली विकासमा सरकार प्रतिबद्ध रहेको बताइन्।

कृषि, वन तथा पर्यावरण क्षेत्रको दिगो विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, स्रोत–साधनको उचित परिचालन र साझा योजनाका साथ अघि बढ्नुपर्नेमा पनि उनले जोड दिइन्।

बैठकमा मन्त्री चौधरीले प्रदेश सरकारबाट प्राप्त सुझावलाई संघीय सरकारले प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।


सम्बन्धित समाचार