Logo

 ९ साउन,काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डा. गोविन्द केसी २४औँ सत्याग्रहमा बसेको स्थान धनगढीस्थित कृष्ण मन्दिर बाहिर शनिबार प्रदर्शन भएको छ। अनशन फिर्ता लिन माग गर्दै केही व्यक्तिहरूले मन्दिर बाहिर प्रदर्शन गरेका हुन्।

कृष्ण मन्दिर धर्मशालाको कोठा नम्बर २११ मा अनशनरत डा. केसीको स्वास्थ्य अवस्था भने जटिल बन्दै गएको चिकित्सकहरूले बताएका छन्। शनिबार बिहान सेती प्रादेशिक अस्पतालका चिकित्सक डा. गजेन्द्र दुवालले उनको स्वास्थ्य परीक्षण गरेका थिए।

परीक्षणका क्रममा डा. केसीको रक्तचाप ११०/९० र रगतमा चिनीको मात्रा ५० मिलिग्राम प्रतिडेसिलिटर पाइएको थियो। सुगरको मात्रा निकै कम भएकाले स्वास्थ्य जोखिम बढ्दै गएको चिकित्सकहरूले बताएका छन्।

चिकित्सकहरूले उनलाई तत्काल सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरी उपचार गर्न सुझाव दिएका छन्। तर डा. केसीले उक्त सुझावबारे आफूले विचार गर्ने बताएका छन्।

डा. केसी बिहीबारदेखि विभिन्न पाँच बुँदे मागसहित धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा अनशनमा बसेका हुन्। उनका सहयोगी अमृत जैशीका अनुसार स्वास्थ्य अवस्था बिग्रँदै गएपछि मांसपेशी बाउँडिने, बोल्न असहज हुने र खुट्टाको पुरानो समस्याका कारण हिँडडुल गर्न कठिन भइरहेको छ।

यसैबीच, सरकारले डा. केसीका माग सम्बोधन गर्न तयार रहेको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन्। मन्त्री पोखरेलले शुक्रबार साँझ उनका सहयोगी अमृत जैशीसँग छलफल गरेका थिए भने राति डा. केसीसँग फोन संवादसमेत गरेका थिए।

संवादका क्रममा मन्त्री पोखरेलले सरकार माग सम्बोधन गर्न प्रतिबद्ध रहेको बताएका थिए। डा. केसीले पाँच बुँदे मागसँगै सहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल ३०० शैयाको अस्पताल सञ्चालन, चिकित्सा शिक्षाको अध्ययन सुरु तथा स्वार्थप्रेरित रूपमा गरिएको उपकुलपति र रजिस्ट्रार नियुक्ति खारेजीलाई मुख्य मागका रूपमा अघि सारेका छन्।

डा. केसीका सहयोगी डा. जैशीका अनुसार मन्त्री पोखरेलले माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने र सम्भव भए धनगढीमै आएर छलफल गर्ने बताएका छन्।


सम्बन्धित समाचार