९ साउन,काठमाडौं । संयुक्त राष्ट्रसंघले मध्यपूर्वमा जारी द्वन्द्वका कारण हर्मुज जलमार्गमा फसेका करिब ६ हजार नाविकको उद्धार गरी स्वदेश फर्काउन सम्बन्धित देशहरूलाई तत्काल पहल गर्न आग्रह गरेको छ।
संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर टर्कले जलमार्गमा फसेका हजारौं नाविकहरूले गम्भीर मानवीय तथा मानव अधिकार संकटको सामना गरिरहेको भन्दै उनीहरूको अवस्थालाई तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनका प्रवक्ता शाबिया मन्तुले शुक्रबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएकी हुन्।
अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ) का अनुसार हर्मुज जलमार्गमा सयौं जहाजमा कम्तीमा ६ हजार नाविक फसेका छन्। युद्धविरामका अवधिमा समेत उनीहरूलाई सुरक्षित रूपमा उद्धार गर्न नसकिएको जनाइएको छ।
संयुक्त राष्ट्रसंघले द्वन्द्वरत पक्षहरूलाई फसेका नाविकलाई सुरक्षित रूपमा जहाजबाट बाहिर निकाल्न, आवश्यक खाद्यान्न तथा अन्य सामग्री आपूर्ति गर्न र सुरक्षित मार्ग सुनिश्चित गर्न आग्रह गरेको छ।
प्रवक्ता मन्तुले गैरसैनिक जहाजहरूमाथि हुने आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीत रहेको उल्लेख गर्दै यस्ता गतिविधि तत्काल रोक्नुपर्ने बताइन्। साथै, मानव अधिकार प्रमुख टर्कले राज्यहरू, जहाज मालिक तथा सम्बन्धित निकायहरूलाई कन्सुलर सहायता, राहत सामग्री, उद्धार तथा स्वदेश फिर्ताको व्यवस्था गरी नाविकहरूको सुरक्षा सुनिश्चित गर्न अपिल गरेका छन्।
यसैबीच, इरान समर्थित हुथी विद्रोहीहरूले रेड सागर क्षेत्रमा तेल ट्यांकरहरूमाथि आक्रमण गरेपछि संयुक्त राज्य अमेरिकाले शुक्रबार इरानमाथि नयाँ हवाई हमला गरेको छ। यस घटनाले क्षेत्रीय तनाव थप बढाएको छ भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० अमेरिकी डलर नाघेको छ।
युद्धअघि विश्वको कुल तेल आपूर्तिको करिब २० प्रतिशत हर्मुज जलमार्गबाट हुने गरेको थियो। अमेरिकी सेनाले जलमार्ग यातायातका लागि खुला रहेको दाबी गरे पनि इरानले भने ट्यांकरहरूलाई सुरक्षित मार्गका लागि भुक्तानी गर्न दबाब दिन आक्रमण जारी राखेको आरोप लागेको छ।




















