९ साउन, काठमाडौँ । नेपाल राष्ट्र बैंकले डिजिटल वालेट खोल्न तथा प्रयोगकर्ताको ग्राहक पहिचान विवरण (KYC) अद्यावधिक गर्ने प्रक्रियामा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने व्यवस्था लागू गरेको छ । भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका, २०८२ मा १५औँ संशोधन गर्दै केन्द्रीय बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूका लागि यो नयाँ नियम जारी गरेको हो ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागद्वारा जारी परिपत्रअनुसार अब भुक्तानी सेवा प्रदायक संस्था (वालेट कम्पनी) हरूले नेपाली नागरिकका हकमा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखसँग विवरण रुजु गरी मात्र नयाँ वालेट खाता खोल्नुपर्नेछ ।
संशोधित निर्देशिकाअनुसार हाल वालेट प्रयोग गरिरहेका र राष्ट्रिय परिचयपत्र लिइसकेका नेपाली नागरिकले आगामी २०८३ असोज मसान्तभित्र आफ्नो वालेट खातामा राष्ट्रिय परिचयपत्र नम्बर (NIN) अद्यावधिक (Update) गरिसक्नुपर्नेछ ।
यसै गरी, अनुमतिप्राप्त संस्थाहरूले २०८३ असोज मसान्तभित्रै आफ्ना मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यममार्फत ग्राहकहरूसँग राष्ट्रिय परिचयपत्र भए/नभएको स्वघोषणा (Self-declaration) लिनुपर्ने व्यवस्था गरिएको छ । राष्ट्रिय परिचयपत्र नलिएका प्रयोगकर्ताको हकमा भने परिचयपत्र प्राप्त गरेपछि विवरण अद्यावधिक गर्न प्रत्येक महिना ‘रिमाइन्डर’ सन्देश वा जानकारी पठाउनुपर्नेछ ।
विदेशमा बसोबास गर्ने नेपाली नागरिकका लागि भने विदेशबाटै अनलाइनमार्फत आवश्यक कानुनी कागजातका आधारमा विद्युतीय वालेट खोल्न पाउने विद्यमान व्यवस्थालाई यथावत् राखिएको छ । यस्ता प्रयोगकर्ताले नेपाल फर्किएको छ महिनाभित्र राष्ट्रिय परिचयपत्रको विवरण सम्बन्धित भुक्तानी संस्थामा अद्यावधिक गराउनुपर्नेछ ।
यसै गरी, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने पूर्ण अशक्त, अपाङ्गता भएका तथा असहाय नागरिकको हकमा भने मानवीय पक्षलाई ध्यानमा राख्दै राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बरबाहेक अन्य वैकल्पिक कानुनी कागजातका आधारमा पनि वालेट खोल्न र वित्तीय कारोबार गर्न सकिने लचिलो व्यवस्था संशोधित निर्देशिकामा समेटिएको छ ।




















