८ साउन,काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा सुरक्षा सुदृढ बनाउँदै सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि संगठन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै महानिरीक्षक पौडेलले सीमा क्षेत्रमा स्थानीय नागरिक, सुरक्षा निकाय, प्रशासन तथा अन्य सरोकारवालासँग निरन्तर समन्वय र सहकार्य गर्दै सुरक्षा व्यवस्था प्रभावकारी बनाइँदै आएको जानकारी दिए।
उनले उत्तर र दक्षिण दुवैतर्फका समकक्ष सुरक्षा निकायसँगको सहकार्यलाई थप सुदृढ बनाउँदै दुई देशबीचको समन्वयमार्फत सीमा सुरक्षा र सीमा अपराध नियन्त्रणलाई अझ प्रभावकारी बनाइने बताए।
महानिरीक्षक पौडेलका अनुसार सशस्त्र प्रहरीले हालसम्म सीमा सुरक्षा, नागरिकको जिउधनको सुरक्षा तथा शान्ति–सुव्यवस्था कायम गर्न विभिन्न सुरक्षा गतिविधि सञ्चालन गर्दै आएको छ। आगामी दिनमा पनि प्रचलित कानुन, उपलब्ध स्रोत–साधन र संगठनको क्षमताअनुसार सीमा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने दिशामा काम गरिने उनले बताए।
उनले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै सीमा सुरक्षालाई अझ मजबुत बनाउने र सीमा क्षेत्रमा शान्ति तथा सुरक्षा कायम राख्न सशस्त्र प्रहरी निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।




















