८ साउन, काठमाडौं । बैंकिङ समूहको बलियो साथ पाएपछि सेयर बजार परिसूचक (नेप्से) ७ दशमलव ९० अंकले उकालो लाग्दै २७३४ अंकमा पुगेको छ ।
अघिल्लो कारोबार दिन १४ दशमलव १७ अंकले बढेको नेप्सेमा आज पनि वृद्धि कायम रहँदा यो परिसूचक गत जेठ २७ गते यताकै उच्च विन्दुमा आइपुगेको हो । कारोबार अवधिभर ११ः४६ बजे २७४७ अंकको उच्च विन्दुसम्म पुगेको बजारमा त्यसपछि भने केही सुस्तता देखिएको थियो ।
बजारमा मुख्य योगदान पुर्याउने बैंकिङ समूहको परिसूचक सर्वाधिक १.१७ प्रतिशतले बढेको छ । बैंकिङबाहेक विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूहमा सुधार देखियो भने व्यापार, उत्पादन तथा प्रशोधन, जलविद्युत् र फाइनान्स समूहका उपसूचकमा गिरावट आएको छ । दिनभर कुल १४३ कम्पनीको सेयर मूल्य बढ्दा ११८ कम्पनीको घट्यो भने १५ कम्पनीको मूल्य स्थिर रह्यो ।
परिसूचकसँगै कारोबार रकममा पनि उल्लेखनीय सुधार आएको छ । अघिल्लो दिन ४ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएकोमा आज वृद्धि भई ६ अर्ब २६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
हालै सूचीकृत भएको एभरेस्ट कलरको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले वृद्धि भएको छ । रकमका आधारमा रिडी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, कुमारी बैंक, आँखुखोला जलविद्युत् र रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रहे ।




















