Logo

८ साउन,काठमाडौं । नेपाली कांग्रेस (सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान) ले पार्टीले राजनीतिक ‘कोर्स करेक्सन’ गर्दै संवैधानिक राजसंस्था र सनातन हिन्दूराष्ट्रको पक्षमा उभिनुपर्ने सुझाव दिएको छ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभियानका सहसंयोजक एवं प्रवक्ता लोकेश ढकालले विज्ञप्ति सार्वजनिक गर्दै १२ बुँदे समझदारी, शान्ति प्रक्रिया, संविधानसभा निर्वाचन र संविधान निर्माणका क्रममा पार्टीबाट भएका राजनीतिक निर्णयको पुनरावलोकन गर्नुपर्ने धारणा व्यक्त गरे। उक्त अभियानको नेतृत्व कांग्रेस नेता शङ्कर भण्डारीले गरिरहेका छन्।

विज्ञप्तिमा नेपाली कांग्रेसले विगतका राजनीतिक निर्णयबाट भएका त्रुटि स्वीकार गरी ‘राजनीतिक कोर्स करेक्सन’ नगरेसम्म राष्ट्रिय राजनीतिमा पार्टीको गुमेको साख र औचित्य पुनः स्थापित हुन नसक्ने उल्लेख गरिएको छ।

अभियानले जनभावना र पार्टीको परम्परागत सिद्धान्तविपरीत संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र तथा निर्वाचन प्रणालीजस्ता मुद्दा अंगालेकाले कांग्रेसप्रति जनविश्वास घट्दै गएको दाबी गरेको छ। बहुदलीय प्रजातन्त्र, राष्ट्रिय एकता, मौलिक नेपाली सांस्कृतिक राष्ट्रवाद तथा सबै धर्मको धार्मिक स्वतन्त्रताको सुनिश्चिततासहित वैदिक सनातन हिन्दूराष्ट्र स्थापना गर्नुपर्ने अभियानको धारणा छ।

विज्ञप्तिमा पार्टीको बृहत्तर एकताको आधार राजनीतिक कोर्स करेक्सन नै भएको उल्लेख गर्दै राष्ट्रियता सुदृढ बनाउन र देशको भविष्य सुरक्षित गर्न संवैधानिक राजसंस्थाको आवश्यकता रहेको दाबी गरिएको छ।

अभियानले २०६३ सालपछि देशमा बलियो राष्ट्रिय अभिभावकको आवश्यकता महसुस भएको उल्लेख गर्दै राजसंस्था हटाउनु नेपालको हितविपरीत भएको जिकिर गरेको छ। साथै राष्ट्ररक्षा, धर्मरक्षा र राष्ट्रिय एकताका लागि सबै देशभक्त तथा प्रजातान्त्रिक शक्तिलाई सहकार्य र एकतामा आउन आह्वान गरेको छ।

विज्ञप्तिमार्फत अभियानले नेपाली कांग्रेसभित्र रहेका विभिन्न गुट–उपगुटलाई पनि एकताबद्ध हुँदै राजनीतिक कोर्स करेक्सनका साथ अघि बढ्न आग्रह गरेको छ।


सम्बन्धित समाचार