Logo

८ साउन,वीरगञ्ज । रौतहटको गुजरा नगरपालिकामा खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ। घटनापछि स्थानीयको कुटपिटबाट गम्भीर घाइते भएका आरोपितको उपचार कडा सुरक्षा व्यवस्थाबीच भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शुक्रबार बिहान करिब १०:३० बजे गुजरा नगरपालिका–५ हरिहरपुर टोलकी अन्दाजी ४०–४५ वर्षीया रेनु देवी जयसवालमाथि धारिलो हतियार प्रहार भएको थियो। गम्भीर चोटका कारण उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बाराको करैयामाई गाउँपालिका–८, ईटहर बेलाही टोल घर भई हाल सोही टोलमा बस्दै आएका अन्दाजी ३५ वर्षीय उपेन्द्र साह कलवारले रेनु देवीमाथि खुकुरी प्रहार गरेका हुन्।

घटनापछि आक्रोशित स्थानीयवासीले आरोपित उपेन्द्रलाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए। स्थानीयको कुटाइबाट गम्भीर घाइते भएका उनको चन्द्रनिगाहपुरस्थित चन्द्रपुर अस्पतालमा कडा सुरक्षा व्यवस्थाबीच उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाको पुष्टि गर्दै घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको जनाएको छ। प्रहरीले घटनास्थलको मुचुल्का उठाउने तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको छ।

हत्याको कारण भने हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।


सम्बन्धित समाचार