Logo

८ साउन, काठमाडौं । उपत्यकाको सुरक्षा र अपराध अनुसन्धानमा आधुनिक प्रविधिको प्रयोग बढाउँदै लगेको जिल्ला प्रहरी परिसर काठमाडौँले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्यामेरामार्फत ५९ जना शङ्कास्पद व्यक्तिहरूलाई पहिचान गरी पक्राउ गरेको छ ।

भद्रकालीस्थित परिसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले गत आर्थिक वर्षमा एआई प्रविधिको सफल प्रयोगबाट विभिन्न आपराधिक गतिविधिमा संलग्न अभियुक्तहरूलाई नियन्त्रणमा लिन सफलता मिलेको जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा बोल्दै परिसरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले अपराध अनुसन्धान तथा नियन्त्रणमा प्रहरी सक्रियता र प्रविधिको संयोजन प्रभावकारी बन्दै गएको बताए ।

उनका अनुसार २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा हराएका तथा लुटिएका १८५ थान हतियार प्रहरीले बरामद गर्न सफल भएको छ । हतियारसहित सो घटनामा संलग्न ५२ जना व्यक्तिहरूलाई समेत नियन्त्रणमा लिई कानुनी कारबाही अघि बढाइएको छ ।

यसैगरी, काठमाडौँ प्रहरीले फरार कैदी तथा थुनुवाहरू पक्राउ गर्ने अभियानलाई पनि तीव्रता दिएको छ । २०८२ साउनदेखि २०८३ असार मसान्तसम्मको एक वर्षको अवधिमा कारागारबाट फरार रहेका १७५ जना कैदी र ९४ जना थुनुवाहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको एसपी भट्टराईले जानकारी दिए। आधुनिक प्रविधिको बढ्दो प्रयोग र प्रहरीको सक्रियताका कारण उपत्यकामा अपराध नियन्त्रण र फरार अभियुक्तहरूलाई पक्राउ गर्ने कार्य थप प्रभावकारी बनेको परिसरको दाबी छ ।


सम्बन्धित समाचार