८ साउन, काठमाडौं । परराष्ट्र मन्त्रालयले दक्षिण पूर्वी एसियाली मुलुकहरूमा सञ्चालित अवैध अनलाइन स्क्यामिङ सेन्टरमा बन्धक तथा ठगीमा परेका ८६० जना नेपालीको सफल उद्धार गरिएको जानकारी दिएको छ ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेलले कम्बोडियाबाट ७३३, म्यानमारबाट ११३, लाओसबाट ८ र थाइल्यान्डबाट ६ जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको बताए। साथै, कम्बोडियाका विभिन्न जेलमा अझै ४९ जना नेपाली पुर्पक्षका लागि थुनामा रहेको र उनीहरूलाई कानुनी सहायता उपलब्ध गराउन बैंककस्थित नेपाली दूतावासले आवश्यक समन्वय गरिरहेको उनले प्रस्ट पारे ।
मन्त्रालयले उद्धारका लागि पहल गर्नुअघि गैरकानुनी रूपमा वैदेशिक रोजगारमा पठाउने गिरोह तथा बिचौलियाविरुद्ध नेपाल प्रहरीमा उजुरी दिन पीडितका परिवारलाई आग्रह गरेको छ । यस्तै, मध्यपूर्वमा चर्किएको द्वन्द्वप्रति चासो व्यक्त गर्दै परराष्ट्र मन्त्रालयले शान्ति सम्झौताको पालना नहुँदा त्यस क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षा, रोजगारीका साथै नेपालको इन्धन आपूर्ति, पर्यटन र समग्र अर्थतन्त्रमा पर्न सक्ने असरबारे सरकार सजग रहेको जनाएको छ ।
अहिलेसम्म मध्यपूर्वमा रहेका नेपालीहरू सुरक्षित रहेको र कुनै अप्रिय घटनाको सूचना नआएको मन्त्रालयले स्पष्ट पारेको छ। नेपालले वार्ता र कूटनीतिलाई नै समस्या समाधानको एकमात्र विकल्प मान्दै विश्व व्यापारका लागि रणनीतिक मानिने ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गको निर्वाध सञ्चालन र दिगो शान्तिका पहलहरूमा आफ्नो पूर्ण समर्थन रहेको पुनः दोहोर्याएको छ ।




















