८ साउन, काठमाडौं । पश्चिम एसिया (मध्यपूर्व) मा चर्किएको द्वन्द्वप्रति नेपाल सरकारले आफ्नो पूर्ववत् अडान दोहोर्याउँदै वार्ता र कूटनीतिक माध्यमबाट समस्याको स्थायी समाधान खोज्न आग्रह गरेको छ ।
परराष्ट्र मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता एवं सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले शान्ति सम्झौताको पालना नहुँदा द्वन्द्व चर्किएको र यसको विश्वव्यापी असरका कारण नेपालको अर्थतन्त्रमा समेत दबाब परेको बताए । उनले विश्व व्यापारका लागि महत्त्वपूर्ण मानिने होर्मुज जलमार्ग पुनः सहज रूपमा सञ्चालनमा ल्याउन भइरहेका अन्तर्राष्ट्रिय प्रयासहरूलाई नेपालको पूर्ण समर्थन रहेको प्रस्ट पारे ।
द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीहरू हालसम्म सुरक्षित रहेको जानकारी दिँदै प्रवक्ता क्षेत्रीले कुनै समस्या परेमा नजिकैको नेपाली नियोग वा ुमोफा मित्रु एपमार्फत सम्पर्क गर्न आग्रह गरे । यसका साथै, दक्षिणपूर्वी एसियाली मुलुकहरू थाइल्यान्ड, कम्बोडिया, लाओस र म्यानमारका सीमा क्षेत्रमा सञ्चालित अवैध अनलाइन स्क्याम सेन्टरहरूबाट हालसम्म ८६० जना नेपालीको उद्धार गरिसकिएको मन्त्रालयले जनाएको छ ।
कम्बोडियाको जेलमा रहेका ४९ जना नेपालीको रिहाइका लागि समेत दूतावासमार्फत पहल भइरहेको छ । प्रलोभनमा पारेर स्क्याम सेन्टरमा मानिस पठाउने कार्य गैरकानुनी भएकाले संलग्न व्यक्तिहरूविरुद्ध प्रहरीमा उजुरी दिन अभिभावकहरूलाई आग्रह गरिएको छ ।
यसैबीच, भारतको कोलकातादेखि विराटनगरसम्म साउन १ गतेदेखि सोझै कार्गो रेल सेवा सञ्चालनमा आएको र यसले नेपालको वैदेशिक व्यापार सहजीकरणमा ठूलो योगदान पुर्याउने अपेक्षा मन्त्रालयले व्यक्त गरेको छ । सोही पत्रकार सम्मेलनमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको हालै सम्पन्न कतार भ्रमणबारे समेत औपचारिक जानकारी गराइएको थियो ।




















