Logo

८ साउन,वीरगञ्ज । ठोरी गाउँपालिका–५ अन्तर्गत पर्ने आठघरे गाउँमा गाउँमै रहेका र विदेशमा रहेका युवाहरूको संयुक्त पहलमा सडक बत्ती जडान गरिएको छ।

‘आफ्नो गाउँ आफैं बनाऔं’ अभियानअन्तर्गत युवाहरूको आर्थिक सहयोग, श्रमदान र समन्वयमा गाउँका विभिन्न स्थानमा सडक बत्ती जडान गर्ने कार्य सम्पन्न भएको हो।

लामो समयदेखि सडक बत्तीको अभावका कारण रातिको समयमा आवतजावत गर्न समस्या हुनुका साथै अन्धकार र विभिन्न जोखिमको अवस्था रहेको थियो। स्थानीय आवश्यकतालाई ध्यानमा राख्दै आठघरेवासी युवाहरूले सहकार्य गरेर अभियान सञ्चालन गरेका हुन्।

सडक बत्ती जडान भएपछि रातिको समयमा आवतजावत सुरक्षित र सहज हुने, गाउँको वातावरण व्यवस्थित बन्ने तथा स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

अभियानमा ठोरी गाउँपालिका–५ को वडा कार्यालयबाट समेत सहयोग प्राप्त भएको जनाइएको छ। स्थानीय युवाहरूले अभियानमा सहयोग गर्ने गाउँका युवा, विदेशमा रहेका आठघरेवासी, स्थानीय बासिन्दा, शुभेच्छुक तथा सहयोगीहरूप्रति धन्यवाद व्यक्त गरेका छन्।

युवाहरूले सडक बत्ती जडानमै सीमित नरही आगामी दिनमा गाउँदेखि प्रधानटोल जाने पुल निर्माण, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी तथा सरसफाइलगायत विकासका क्षेत्रमा समेत सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

स्थानीय युवाहरूले गाउँको विकास कुनै एक व्यक्ति वा निकायको मात्र जिम्मेवारी नभई गाउँमा बस्ने र विदेशमा रहेका सबै आठघरेवासीको साझा दायित्व भएको भन्दै सामूहिक अभियानलाई निरन्तर अघि बढाउने बताएका छन्।


सम्बन्धित समाचार