Logo

८ साउन,काठमाडौं । विद्युतीय कारोबारसम्बन्धी मुद्दामा आरती रावललाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।

काठमाडौं जिल्ला अदालतका अनुसार बुधबार न्यायाधीश उमानाथ गौतमको इजलासले रावललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। अदालतको आदेशपछि उनलाई महिला बन्दीगृह, जगन्नाथ देवल चलान गरिएको छ।

रावल यसअघि न्यायाधीश भुवन गिरीविरुद्ध वैवाहिक बलात्कारको मुद्दा दायर गरेपछि चर्चामा आएकी थिइन्। उनले न्यायको माग गर्दै विभिन्न प्रदर्शनसमेत गर्दै आएकी थिइन्।

गिरी सोही मुद्दामा केही समय कारागारमा बसे पनि पछि अदालतबाट सफाइ पाएपछि नियमित काममा फर्किएका थिए। अदालतको आदेश अस्वीकार गर्दै रावल गिरीविरुद्धका गतिविधिमा सक्रिय रहँदै आएको बताइएको छ।

यस क्रममा विभिन्न विद्युतीय माध्यमबाट गिरीको मानहानी गरेको आरोपमा रावलविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। सर्वोच्च अदालतको पत्रको जाहेरीका आधारमा नेपाल सरकार वादी भई उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाइएको हो।


सम्बन्धित समाचार