Logo

८ साउन, काठमाडौं । सर्वोच्च अदालतको कायम मुकायम (कामु) प्रधानन्यायाधीशको जिम्मेवारी पुनः वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले सम्हालेकी छिन् । प्रधानन्यायाधीश मनोजकुमार शर्मा औपचारिक भ्रमणका क्रममा भारततर्फ प्रस्थान गरेपछि न्यायपालिकाको नेतृत्व मल्लको काँधमा आएको हो ।

कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा फर्किएसँगै मल्लले अदालतको प्रशासनिक र न्यायिक कार्य अघि बढाएकी छिन् । शुक्रबारका लागि कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा कुल ३६ वटा मुद्दाको पेसी तोकिएर सुनुवाइ प्रक्रिया अघि बढाइएको छ ।

यसअघि पूर्वप्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि पनि मल्लले नै कामु प्रधानन्यायाधीशको भूमिका निभाएकी थिइन् ।

तर, गत वैशाख २४ गते संवैधानिक परिषद्को बैठकले मल्ललाई पछाडि पार्दै चौथो वरीयतामा रहेका मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि उनी असन्तुष्टि जनाउँदै २० दिनको बिदामा बसेकी थिइन् । बिदाबाट फर्किएर नियमित काममा सम्हालेकी मल्ल प्रधानन्यायाधीश शर्माको विदेश भ्रमणसँगै पुनः सर्वोच्चको नेतृत्वमा फर्किएकी हुन् ।


सम्बन्धित समाचार