Logo

८ साउन,काठमाडौं ।  बाल मन्दिरमा भएको ठगी प्रकरणमा नेपाल बाल संगठनका पूर्वपदाधिकारीसहित आठ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगीको कसुरमा मुद्दा दायर गरिएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो।

मुद्दा दायर हुनेमा नेपाल बाल संगठनका तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, तत्कालीन सचिव राजेन्द्रकुमार श्रेष्ठ, तत्कालीन सभापति ओमकृष्ण कर्माचार्य, युरीकुमारी राई, तत्कालीन कोषाध्यक्ष दीपकदास श्रेष्ठ, प्रयागराज श्रेष्ठ, तत्कालीन सभापति भगवान शाक्य तथा तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार रहेका छन्।

प्रतिवादी बनाइएका आठ जनामध्ये आशा श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ र ओमकृष्ण कर्माचार्य पक्राउ परेका छन् भने बाँकी पाँच जनालाई फरार प्रतिवादी कायम गर्दै मुद्दा दायर गरिएको सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए।

बाल मन्दिरमा भएको अनियमितताबारे अध्ययन गर्न उच्च अदालतका पूर्वमुख्य न्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा गठित आयोगले २०७७ सालमै प्रतिवेदन सरकारलाई बुझाएको थियो। उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय मन्त्रिपरिषद्ले गत चैतमा गरेपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धान पूरा भएपछि ठगीको कसुरमा आठ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरिएको हो।


सम्बन्धित समाचार