Logo

८ साउन, काठमाडौं । विराटनगर विमानस्थलबाट स्रोत नखुलेको लाखौँ रुपैयाँ नगदसहित एक बहालवाला उपसचिव पक्राउ परेका छन् ।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई मोरङका कार्यालय प्रमुख उपसचिव मिक्मार तामाङलाई ६ लाख ६५ हजार रुपैयाँ नगदसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

दोलखाको भीमेश्वर नगरपालिका–९ स्थायी घर भएका उपसचिव तामाङ साउन ३ गते बुद्ध एयरको उडानबाट काठमाडौँ जाने तयारीमा थिए ।

विमानस्थलको नियमित प्रस्थान सुरक्षा जाँचका क्रममा उनले बोकेको कालो झोलाभित्र १ हजार दरका ५१५ थान र ५०० दरका ३०० थान गरी कुल ६ लाख ६५ हजार रुपैयाँ भेटिएको थियो । बरामद रकमको कानुनी स्रोत खुलाउन नसकेपछि विमानस्थल सुरक्षा गार्डले उनलाई तत्कालै नियन्त्रणमा लिएर थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाएको थियो ।

सरकारी कार्यालयका उच्च अधिकारी गैरकानुनी रकमसहित पक्राउ परेको यो घटनालाई मोरङ प्रहरीले लामो समयसम्म गोप्य राखेको थियो । मोरङका प्रहरी प्रमुख (एसपी) कवित कटुवालका अनुसार बरामद रकमको वैधानिक स्रोत पुष्टि हुन नसकेकाले अनुसन्धान प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

प्रहरीले अनुसन्धान प्रतिवेदन तयार पारिसकेको र मुद्दा प्रक्रिया अघि बढाउन जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गर्ने तयारी भइरहेको जनाएको छ ।


सम्बन्धित समाचार