८ साउन,वीरगञ्ज । अमेरिकाले जबरजस्ती श्रम प्रयोग गरेर उत्पादन गरिएका वस्तुको आयात नियन्त्रण गर्न पर्याप्त कदम नचालेको आरोप लगाउँदै विश्वका करिब ६० प्रमुख व्यापार साझेदारमाथि नयाँ भन्सार शुल्क लागू गरेको छ।
आजदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार सम्बन्धित देशबाट आयात हुने वस्तुमा १० देखि साढे १२ प्रतिशतसम्म अतिरिक्त भन्सार शुल्क लाग्नेछ। यसबाट बेलायत, चीन, युरोपेली संघ, क्यानडा, जापान, भारतलगायत अमेरिकाका प्रमुख व्यापार साझेदार प्रभावित हुनेछन्।
अमेरिकी प्रशासनका अनुसार यी देशहरूले अमेरिकाको कुल आयातको झण्डै ९९.४ प्रतिशत हिस्सा ओगट्छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेयता अमेरिकी उद्योगको संरक्षण, स्वदेशी उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै भन्सार शुल्क (ट्यारिफ) लाई प्रमुख आर्थिक नीतिका रूपमा अघि बढाइरहेका छन्।
यसैबीच, अमेरिकी प्रशासनले उत्पादन क्षमताको दुरुपयोग तथा जबरजस्ती श्रमसँग सम्बन्धित आरोपमा थप १६ देशमाथि अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धानको निष्कर्षका आधारमा ती देशमाथि पनि यस वर्षभित्र थप भन्सार शुल्क लगाइने सम्भावना रहेको बीबीसीले जनाएको छ।




















