८ साउन, काठमाडौं । चलिरहेको मोटरसाइकलमा ज्यान जोखिममा राखेर स्टन्ट गरेको भिडियो भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्तालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
सिरहाको लहानस्थित ट्राफिक प्रहरी कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन अनुसार नियम उल्लङ्घन गरेको कसूरमा सांसद गुप्तालाई ५ सय रुपैयाँ जरिवाना गराएको हो ।
लहान–जनकपुर सडकखण्डमा गुडिरहेको मोटरसाइकलमाथि दुवै खुट्टाले उभिएर जोखिमपूर्ण यात्रा गरिरहेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सांसद गुप्ताको व्यापक आलोचना भएको थियो ।
जनप्रतिनिधि नै कानुनको धज्जी उडाउँदै खतरापूर्ण स्टन्टमा उत्रिएपछि नागरिकस्तरबाट कारबाहीको माग उठेको थियो । चौतर्फी दबाब र आलोचनापछि उनले आफ्नो गैरजिम्मेवार व्यवहारप्रति सार्वजनिक रूपमा क्षमायाचना गर्दै प्रहरीको कानुनी कारबाही भोग्न तयार रहेको बताएका थिए ।
ट्राफिक प्रहरीले उनलाई नियन्त्रणमा लिई जरिवाना गराएर चिट काटेको छ भने गुप्ताले जरिवाना रकम दाखिला गरी रसिद बुझिसकेका छन् । सार्वजनिक पदमा रहेका व्यक्तिले नै सडक सुरक्षा र यातायात नियमको बेवास्ता गर्दा सर्वसाधारणमा गलत सन्देश जाने भन्दै ट्राफिक प्रहरीले जोसुकै भए पनि कानुनको नजरमा समान हुने र नियम मिच्नेलाई कारबाहीको दायरामा ल्याइने स्पष्ट पारेको छ ।




















