Logo

८ साउन,वीरगञ्ज । मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि विकास निर्देशनालयका अनुसार प्रदेशभर ३ लाख ५८० हेक्टरभन्दा बढी क्षेत्रफलमा धान रोपिएको छ।

निर्देशनालयको तथ्यांकअनुसार साउन ७ गतेसम्म प्रदेशका आठवटै जिल्लामा धान रोपाइँ तीव्र गतिमा भइरहेको छ। यस वर्ष पर्याप्त वर्षा भएकाले किसान उत्साहका साथ रोपाइँमा जुटेका छन्।

जिल्लागत प्रगतिमा सिरहा अग्रस्थानमा रहेको छ। सिरहामा हालसम्म ९४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ भने महोत्तरीमा सबैभन्दा कम ५५ प्रतिशत मात्रै रोपाइँ भएको निर्देशनालयले जनाएको छ।

कृषि विकास निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माका अनुसार यस वर्ष किसानले उन्नत जातका धानको बीउ प्रयोग गर्नुका साथै रासायनिक र प्राङ्गारिक मलको उचित व्यवस्थापनमा पनि ध्यान दिएका छन्।

यद्यपि, प्रदेशका केही स्थानमा सिँचाइ पूर्वाधारको अभाव र मलको उपलब्धतासम्बन्धी समस्या कायमै रहेको किसानहरूले गुनासो गरेका छन्। उनीहरूले समयमै मल र आवश्यक कृषि सामग्री उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।


सम्बन्धित समाचार