Logo

८ साउन, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सवारी चालकहरूलाई ट्राफिक प्रहरीको कारबाहीमा पर्नै नपर्ने गरी अनुशासित भएर सवारी साधन चलाउन आग्रह गरेका छन् ।

ट्राफिक नियम उल्लङ्घनमा जरिवाना रकम बढाउन लागिएको भन्दै आलोचना भइरहेका बेला आईजीपी कार्कीले प्रहरीले जरिवाना असुल गर्नुभन्दा पनि चालकहरू स्वयं सचेत भइदिऊन् भन्ने चाहेको बताएका हुन् ।

मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १४औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी कार्कीले प्रहरीको प्राथमिकता जरिवानाको चिट काट्नु नरहेको स्पष्ट पारे ।

‘हामीलाई ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् भन्ने लाग्छ’ ‘उनले भने, ‘तर मापसे गरेर चलाउने र हेलमेट नै नलगाउने जस्ता गम्भीर लापरवाही भेटिएपछि कारबाही गर्नैपर्ने बाध्यता हुन्छ ।’ पटक–पटक नियम उल्लङ्घन गरेर कारबाहीमा पर्ने चालकहरूलाई व्यङ्ग्य गर्दै उनले त्यस्ता व्यक्तिहरूमा सद्बुद्धि पलाओस् भन्ने कामनासमेत गरे ।

केवल कानुनको कडाइ वा प्रहरीको टोली खटाएर मात्रै सुरक्षित समाज निर्माण हुन नसक्ने भन्दै उनले यसका लागि जनचेतना र नागरिक सहभागिता अपरिहार्य रहेको औँल्याए । विद्यालय तहदेखि नै पाठ्यक्रममा ट्राफिक शिक्षा समावेश गर्नुपर्नेमा जोड दिँदै कार्कीले उच्च शिक्षा हासिल गरेका शिक्षित वर्गबाटै समेत सडक नियमको बेवास्ता हुनु दुःखद रहेको टिप्पणी गरे ।

अभिभावकले नियम मिच्दा बालबालिकाले गलत संस्कार सिक्ने जोखिम रहने भन्दै उनले घर र कार्यस्थलबाटै अनुशासित व्यवहारको सुरुवात गर्नुपर्ने बताए ।


सम्बन्धित समाचार