Logo

८ साउन, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूविरुद्ध सामाजिक सञ्जालमा आपत्तिजनक गालीगलौज तथा भ्रामक सामग्री पोस्ट गरेको अभियोगमा पक्राउ परेकी आरती रावल पुर्पक्षका लागि जेल चलान भएकी छिन् ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उमानाथ गौतमको इजलासले रावललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनलाई केन्द्रीय कारागार जगन्नाथदेवल पठाइएको हो ।

जिल्ला न्यायाधीश भुवन गिरीकी पूर्वपत्नी समेत रहेकी रावलविरुद्ध सर्वोच्च अदालतले नै पत्राचार गरी जाहेरी दिएपछि नेपाल प्रहरीको साइबर ब्युरोले गत असार २२ गते माइतीघरबाट नियन्त्रणमा लिएको थियो ।

वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले पूर्वपति भुवन गिरीलाई सफाइ दिएपछि रावलले सामाजिक सञ्जाल फेसबुकमार्फत न्यायाधीशहरूविरुद्ध घृणास्पद, मानहानिकारक र आपत्तिजनक अभिव्यक्ति दिएको अनुसन्धानबाट पुष्टि भएको छ ।

साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले साउन ५ गते रावलविरुद्ध ५ वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिबानाको मागदाबी गर्दै साइबर कसूरमा मुद्दा दायर गरेको थियो ।

काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार, सामाजिक सञ्जालको दुरुपयोग गरी न्यायधीशहरूको मानमर्दन गर्ने, समाजमा घृणा तथा द्वेष फैलाउने जस्ता गम्भीर कार्य गरेको र प्राप्त प्रमाणहरूका आधारमा अहिल्यै निर्दोष भन्न नमिल्ने देखिएकाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।


सम्बन्धित समाचार