Logo

८ साउन,काठमाडौं । गृहमन्त्री सुधन गुरुङले अब सीमा क्षेत्रको अनुगमनका लागि गृहमन्त्री आफैं जानेभन्दा पनि विशेष टास्क फोर्स बनाएर सादा पोशाकका कर्मचारी खटाउने योजना रहेको बताएका छन्।

राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरुङले सीमा क्षेत्रका वास्तविक समस्या बुझ्न र प्रभावकारी अनुगमन गर्न यस्तो व्यवस्था गर्न लागिएको जानकारी दिए।

उनले गृहमन्त्री सीमा क्षेत्रमा जाँदा भीडभाड हुने, काम गर्न असहज हुने र कतिपय अवस्थामा भ्रमणलाई ‘स्टन्ट’ का रूपमा व्याख्या गरिने भएकाले नयाँ व्यवस्था गर्न लागिएको बताए।

“अब सीमा नाकामा गृहमन्त्री जानेभन्दा पनि मिनिस्ट्रियल टास्क फोर्स बनाउने योजना बनाएका छौं। सादा पोशाकको युनिटले जनताको समस्या बुझेर सीमा क्षेत्रको मनिटरिङ गर्छ,” उनले भने।

गृहमन्त्री गुरुङले विशेषगरी मधेश, कर्णाली र सुदूरपश्चिम क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए। उनले यी क्षेत्रका जनताको समस्यालाई विगतमा राजनीतिक विषय बनाइए पनि जनताले अपेक्षित उपलब्धि महसुस गर्न नसकेको धारणा राखे।

“मधेश, कर्णाली र सुदूरपश्चिम धेरै वर्षदेखि जनताको आँशुमा राजनीति भएको ठाउँका रूपमा देखिएका छन्। तर जनताले उपलब्धि भएको अनुभव गर्न सकेका छैनन्,” उनले भने।

उनले यी प्रदेशका जनताको समस्या समाधानका लागि बजेट र नीतिगत समन्वयलाई प्राथमिकता दिइएको बताए। जनताको दुःखलाई राजनीतिक स्वार्थका लागि प्रयोग नगर्न आग्रह गर्दै उनले कमजोरी भए सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।


सम्बन्धित समाचार