९ साउन,काठमाडौं । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका माग राख्दै धनगढीको कृष्ण मन्दिरस्थित धर्मशालामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सेती प्रादेशिक अस्पताल लगिएको छ।
तीन दिनदेखि २४औँ अनशनमा रहेका डा. केसीलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुर्याइएको हो। सेती प्रादेशिक अस्पतालका अनुसार उनलाई आईसीयूमा राखेर उपचार सुरु गरिएको छ।
डा. केसीका सहयोगी डा. अमृत जैसीका अनुसार अनशनका क्रममा उनको शरीरमा चिनीको मात्रा निकै घटेर ५० पुगेको थियो। स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि चिकित्सकको सुझावअनुसार उनलाई अस्पताल सारिएको हो।
डा. केसीले चिकित्सा शिक्षा सुधार, गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न माग सम्बोधन गर्न सरकारलाई दबाब दिँदै धनगढीस्थित कृष्ण मन्दिरबाट २४औँ सत्याग्रह सुरु गरेका थिए।
अनशन सुरु गरेयता उनको स्वास्थ्य अवस्था क्रमशः कमजोर बन्दै गएको र चिकित्सकहरूले नियमित निगरानी तथा उपचार आवश्यक रहेको बताएका छन्।