९ साउन,वीरगञ्ज । सर्पदंशबाट एक बालकको उपचारका क्रममा मृत्यु भएपछि सिरहाको भगवानपुर गाउँपालिका तनावग्रस्त बनेको छ। उपचारमा ढिलाइ भएको र समयमै एम्बुलेन्स उपलब्ध नगराइएको आरोप लगाउँदै आक्रोशित स्थानीयले स्वास्थ्य केन्द्रमा तोडफोड गर्नुका साथै हुलाकी सडक अवरुद्ध गरेका छन्।
भगवानपुर गाउँपालिका–४, कल्याणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याइएका सप्तरीको बलान बिहुल गाउँपालिकाका अरुण मण्डलका छोरा रोशन मण्डलको मृत्यु भएको हो।
स्थानीयले समयमै थप उपचारका लागि रिफर नगरेको र एम्बुलेन्स उपलब्ध नगराउँदा बालकको ज्यान गएको आरोप लगाएका छन्। आफन्तका अनुसार एम्बुलेन्स चालकले गाउँपालिका अध्यक्ष उग्र नारायण यादवको अनुमति बिना एम्बुलेन्स सञ्चालन गर्न नमिल्ने बताएपछि उपचार प्रक्रियामा ढिलाइ भएको थियो।
घटनापछि आक्रोशित स्थानीयले स्वास्थ्य केन्द्रमा तोडफोड गरेका छन् भने हुलाकी सडकमा टायर र दाउरा बालेर यातायात अवरुद्ध गरेका छन्। सडक अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको छ।
स्थानीयका अनुसार बिहान ११ बजे गाउँपालिका अध्यक्षसँग वार्ता गर्ने सहमति भए पनि अध्यक्ष वार्तास्थलमा नआएपछि आन्दोलन थप चर्किएको हो। आन्दोलनका अगुवा प्रविन्द यादव र इन्दल मण्डलले अध्यक्ष वार्तामा सहभागी नभएको भन्दै असन्तुष्टि जनाएका छन्।
घटनापछि अवस्था नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी रमेशबहादुर पालले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।




















