९ साउन,ठोरी । पर्साको बिरगंज ठोरी हुलाकी सडक खण्डको छेउमै पर्ने बाघमोर्चा मन्दिर हुँदै झण्डै ५ सय मिटर अगाडी बढेपछि जङ्गल किनाराको छेउमा जस्ताले छाएका ४ ओटा पक्की भवन छन् ।
प्रकृतिको काखमा शान्त ठाउँमा साविक सुवर्णपुर गाविसको ठुलो बाघमोर्चा र आठघर गाउँकाे लगभग बिचमा रङरोगन नगरिएका भवनहरु ती दुबै गाउँको बिचमा रहेको एउटा मात्र सरकारी कार्यालय हो । शत प्रतिशत तामाङ समुदायको मात्र बसोबास रहेको गाउँमा आजसम्म पनि सरकारी कार्यालय भनेको यही विद्यालय नेरा प्राथमिक विद्यालय बाघमोर्चा मात्र छ ।
तामाङ समुदायको घना वस्तीमा त्यतिबेलाका अग्रजहरुको जोडबलमा पन्चायतकालको अन्त्य अन्त्य तिर विस २०४६ सालमा स्थापना भएको सो विद्यालयमा कुनै समय १ सय ५० भन्दा धेरै विद्यार्थी पढ्ने गर्थे । झण्डै अढाई दशक भन्दा लामो समयसम्म बाघमोर्चा र आठघर गाउँका बालबालिकाको लागि प्रारम्भिक शिक्षा आर्जन गर्ने एक मात्र विश्वासिलो थलो बनेको विद्यालय , केही वर्षयता क्रमशः ओरालो मात्र लागेन यहाँ अध्ययन गर्ने विद्यार्थी भेट्टाउन नै मुस्किल पर्न थाल्यो ।

यो विद्यालयमा क , ख सिकेका विद्यार्थीहरु विश्वका हरेक कुनामा पुगिसके तर विद्यालय भने प्रगति गर्नुको सट्टा झन झन ओरालो लागिरह्यो । विद्यालयको खस्कदो शैक्षिक अवस्था , निजी शिक्षण संस्थाको प्रभाव , शिक्षक दरबन्दी कटौती र अभिभावककको विश्वास नै गुम्दै गएपछि शैक्षिक सत्र २०८३ को सुरुवातमा जम्मा १२ जना विद्यार्थी मात्र रह्यो विद्यालयमा अध्ययन गर्ने ।
प्राथमिक तहका ३ जना , बालविकासका २ जना र कार्यालय सहयोगी गरी ६ जना शिक्षक कर्मचारी रहेको विद्यालयमा विद्यार्थी भने १२ जना मात्र भए पछि ठोरी गापाले मर्ज गर्ने कोसिस पनि नगरेको होइन ।
तर सरकारी कार्यालयको नाममा गाउँमा भएको एउटा मात्र विद्यालय अनि आफुले नै पढेको विद्यालयको नाम नै मेटिने भएपछि अहिले बाघमोर्चा प्राविको कायापलट गरेर शैक्षिक हब बनाउन यहाँका युवाहरु जुर्मुराएर लागि परेका छन्।
लगभग एक घर एक युवा वैदेशिक रोजगारीमा रहेको बाघमोर्चाका युवाहरुले प्रवासबाटै विद्यालय सुधार अभियान थालेका छन्। सामाजिक सन्जालमा ग्रुप बनाएर कसरी विद्यालयलाई अगाडी बढाउने मात्र होइन , विद्यालयमा आवश्यक पर्ने सामान किन्न झण्डै ३ लाख जम्मा पनि गरिसकेका छन्। युवालाई यो अभियानमा यसरी जुट्ने प्रेरणा भने विद्यालयका वर्तमान प्रधानाध्यापक रन्जित कार्कीले गरेका हुन्। प्रधानाध्यापक कार्कीलाई भरथेग भने बाघमोर्चा र आठघरका स्थानीयबासीहरु लगायत ठोरी -५ का वडाध्यक्ष अष्ट बहादुर लोप्चनले गरिरहेका छन्।
जेठको पहिलो सातातिर मात्र प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका कार्की आउँदा विद्यालयमा एक बोतल पानी थाप्न झण्डै आधा घण्टा चापाकल चलाउनुपर्ने अवस्था थियो । चापाकल सुकेपछि पानी नभएर बिजोग अवस्था थियो । उनले चापाकल सन्चालन मात्र गरेनन्। स्थानीय समुदायसंग हारगुहार गरेर ३५ वर्षदेखि प्रयोग विहिन रहेको जापान सरकारले बनाइदिएको धारा सन्चालनमा ल्याएर दिगो पानीको व्यवस्था गरे।

जसको लागि विद्यालय समयमा मात्र होइन बिदाको दिनमा पनि बिहान ६ बजेदेखि राति सम्म विद्यालयमा नै बसेर काम गरे । झारपातले घेरिएर कुरुप बनेको विद्यालयको समुदायकै सहयोगमा सरसफाई गरे । विद्यार्थीको दिवा खाजा व्यवस्थित बनाउन घरबाट ग्यास बोकेर लगे ।
सबैभन्दा ठुलो कुरा विद्यालयमा पढाई हुँदैन भन्ने धारणा हटाउन शिक्षक उपस्थितिमा कडाई गरे जसले गर्दा भर्ना अभियान सकिएर प्रधानाध्यापकको नेतृत्व सम्हालेका कार्कीले १२ जनाबाट २५ जना विद्यार्थी पुर्याए , यही अवस्था रहे आगामी वर्ष विद्यालयमा विद्यार्थी सङ्ख्या ह्वात्तै बढ्ने उनको विश्वास छ । उनले यो विश्वास त्यतिकै गरिरहेका छैनन् , वैदेशिक रोजगरीमा रहेका ३५ जना भन्दा धेरै युवाहरुले विद्यालय जसरी पनि सुधार्नुपर्ने र त्यसका लागि सबै किसिमको सहयोग गर्ने वाचाले उनलाई आँट आएको छ ।
‘ ३५ जना युवाबाट अहिले झण्डै तीन लाख रुपैया सहयोग रकम प्राप्त भएको छ । ‘ प्रधानाध्यापक कार्कीले भने , ‘ अब सरोकारवालासंग छलफल गरेर स्कुल ड्रेस र अन्य आवश्यक सामान खरीदमा खर्च गर्ने योजना छ । ‘
त्यसो त कुनै हालतमा अङ्ग्रेजी माध्यममा पठनपाठन सन्चालन गर्ने र विद्यालय भन्दा अतिरिक्त समयमा पनि कोचिङ सन्चालन गर्ने उनको योजना छ । उनको योजनालाई साकार बनाउन ठोरी गापा कार्यालय र वडा कार्यालयले पनि चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको छ ।
बजेट निकासा हुनासाथ जस्तापाताको तापक्रम नियन्त्रण गर्न फल्स सिलिङ र विद्यालयको रङरोगन गर्ने योजना बनाएको प्रधानाध्यापक कार्कीले बताए । करीब करीब मर्ज हुन लागेको विद्यालय अहिले दिनभर खुल्ला हुन्छ ।
विद्यार्थीहरु विद्यालय समयभन्दा बाहेक पनि विद्यालय आएर कम्प्युटर चलाउने , खेल खेल्ने र होमवर्क गर्ने गरिरहेका छन्। पहिला विद्यालय खत्तम भयो भनेर गुनासो मात्र गरिरहने अभिभावकहरु दिनको एक पटक स्कुलको हालखबर सोध्न आइरहन्छ्न्। प्रधानाध्यापक कार्की प्रायः विद्यालयमा नै भेटिन्छन्। वडाध्यक्ष अष्ट बहादुर लोप्चन भ्याएसम्म दिनमा एकपटक विद्यालय पुगेर विद्यालयको समस्या सुन्छन्।
हेडसरले विद्यालयको सुधारका लागि बनाएको म्यासेन्जर ग्रुपमा दिनभर जसो विद्यालय सुधारकै बारेमा छलफल र चर्चा हुन्छ । विभिन्न देशमा छरिएर रहेका युवाहरु जुरुक्क जुर्मुराएका छन् , उनीहरुको एउटै भनाई छ अब हिजो जे भयो भयो अब विद्यालय सुधार हुनैपर्छ ।
बाघमोर्चा र आठघरको सरकारी कार्यालयको मुहारको रुपमा रहेको एकमात्र विद्यालय बिस्तारै सुधारको बाटोमा बामे सर्न थालेको स्थानीयहरुले बताउन थालेका छन्।





















