९ साउन,काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले हरेक नागरिकले आफ्नो पेसा र व्यवसायमा गर्व गर्न सक्ने वातावरण निर्माण हुनु नै वास्तविक लोकतन्त्र भएको बताएका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र प्रहरी आवास भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले लोकतन्त्र व्यवहारमा देखिनुपर्नेमा जोड दिए।
उनले लोकतन्त्र केवल शब्दमा सीमित नभई नागरिकले आफ्ना कर्म र पेसाप्रति सम्मान र गौरव महसुस गर्न पाउने अवस्था भएको बताए। पसले, इलेक्ट्रिसियन, भान्से, लुगा सिलाउने व्यक्ति, प्रहरी वा मजदुर सबैले आफ्नो काममा आत्मसम्मान पाउनुपर्ने उनको भनाइ थियो।
पेसा वा व्यवसायका आधारमा कोही ठूलो वा सानो नहुने उल्लेख गर्दै कार्कीले समाजले सबै प्रकारका श्रम र योगदानको सम्मान गर्नुपर्ने बताए। उनले मानिसको ओहदा वा हैसियत हेरेर फरक–फरक व्यवहार गर्ने प्रवृत्ति लोकतान्त्रिक मूल्यविपरीत रहेको उल्लेख गरे।
महानिरीक्षक कार्कीले प्रहरी कार्यालयमा सेवा लिन आउने सबै नागरिकलाई समान व्यवहार गर्न निर्देशन दिए। कुनै पनि आधारमा सेवाग्राहीमाथि विभेद हुन नहुनेमा उनले जोड दिए।
उनले नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र प्रहरी आवास भवनले सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न तथा प्रहरी कर्मचारीको कार्यसम्पादनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।




















