९ साउन,काठमाडौं । सरकारले एक रुपैयाँको नयाँ सिक्काको डिजाइन तयार पारेको छ। प्रस्तावित डिजाइनमा नेपालको चुच्चे नक्सासहित आकाश भैरवको चित्र समावेश गरिएको छ।
अर्थ मन्त्रालय स्रोतका अनुसार नयाँ डिजाइन अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेस गरिनेछ। मन्त्रिपरिषद्बाट स्वीकृति पाएपछि नयाँ सिक्का उत्पादन प्रक्रिया अघि बढ्नेछ।
यसअघि नेपाल राष्ट्र बैंकले मुस्ताङको घार गुम्बाको तस्बिर राख्ने गरी तयार पारेको एक रुपैयाँको सिक्काको डिजाइन स्वीकृतिका लागि पठाएको थियो। तर मन्त्रिपरिषद्ले उक्त प्रस्ताव फिर्ता गर्दै डिजाइन परिमार्जन गरेर ल्याउन निर्देशन दिएको थियो।
राष्ट्र बैंक ऐनअनुसार नोट वा सिक्काको डिजाइन स्वीकृत गर्ने तथा परिवर्तन गर्ने अधिकार मन्त्रिपरिषद्मा रहेको छ।
राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले नयाँ सिक्काको डिजाइनमा नेपालको नक्सा रहने जानकारी आफूलाई रहेको बताएका छन्। उनले सिक्काको तौल र आकारमा भने परिवर्तन गर्न लागिएको बताए।
हालको एक रुपैयाँको सिक्का बनाउन प्रयोग हुने धातुको लागत सिक्काको अंकित मूल्यभन्दा बढी पर्न थालेपछि तौल घटाउने र धातु परिवर्तन गर्ने तयारी गरिएको पौडेलले बताए।
उनका अनुसार हाल प्रयोग भइरहेको मिश्रित धातुको सट्टा स्टिल प्रयोग गर्ने तयारी छ। यसले उत्पादन लागत घटाउनुका साथै वातावरणीय हिसाबले पनि फाइदा पुग्ने बताइएको छ।
नयाँ सिक्कामा ६४ वटा थोप्ला राखिनेछ, जसलाई ६४ योगिनीको प्रतीकका रूपमा लिइएको छ। राष्ट्र बैंकका अनुसार सिक्कामा राखिने चित्र र संकेतहरूको सांस्कृतिक तथा ऐतिहासिक महत्व रहने गर्छ।
राष्ट्र बैंकले विगतमा पनि नयाँ सिक्का जारी गर्दा डिजाइन र संरचनामा विभिन्न परिवर्तन गर्दै आएको जनाएको छ। नयाँ सिक्काको अन्तिम स्वरूप भने मन्त्रिपरिषद्को निर्णयपछि तय हुनेछ।




















