८ भदौ, काठमाडौं । नेपालसँग हवाई सम्पर्क बढाउन र पर्यटन प्रवर्द्धन गर्न भियतनाम सकारात्मक देखिएको छ।
नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादव र भियतनामकी समकक्षी भो थी आन्ह सुआन बीच भएको द्विपक्षीय वार्तामा भियतनामले यस विषयमा सकारात्मक धारणा राखेको हो।
द्विपक्षीय भेटवार्ताको सार
आज बिहान सम्पन्न भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन व्यापार, लगानी, जलविद्युत, पर्यटन, र सांस्कृतिक सहकार्यका विषयमा गहन छलफल भएको थियो। परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश अधिकारीका अनुसार दुवै पक्षले मित्रता, सद्भाव, र द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
हवाई सम्पर्क र पर्यटनमा जोड
भेटमा सबैभन्दा बढी जोड हवाई सम्पर्क बढाउने विषयमा दिइएको थियो। दुवै देशको साझा धार्मिक र सांस्कृतिक विरासत -विशेष गरी बुद्ध धर्म_ लाई सम्बन्धको सेतु मान्दै धार्मिक र सांस्कृतिक पर्यटनको प्रचुर सम्भावनाबारे पनि छलफल भयो। अधिकारीले भनेका छन्, …दुई देशबीच पर्यटन प्रवर्द्धनका लागि निकट भविष्यमा हवाई सम्पर्क बढाउन आपसी छलफल गर्ने कुराकानी भएको छ।
उच्चस्तरीय भ्रमणको शृङ्खला
नेपालका उपराष्ट्रपति यादवको निमन्त्रणामा नेपाल आएकी सुआनको यो नेपालमा भियतनामबाट भएको पहिलो उच्चस्तरीय भ्रमण हो। नेपाल आएकै दिन उनले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेकी थिइन् । सो भेटमा मन्त्री राणाले भियतनामलाई भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान सुरु गर्न प्रस्ताव गरेकी थिइन्।
आफ्नो तीनदिने नेपाल भ्रमणका क्रममा उपराष्ट्रपति सुआनले आजै प्रधानमन्त्री केपी शर्मा ओली र भोलि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनी सोमबार स्वदेश फर्किनेछिन्।















