Logo

८ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकको नयाँ डिजिटल सेवा ‘ओरेन्ज एनएक्सटी’ तत्कालका लागि स्थगन गरेको छ ।

लक्ष्मी सनराइज बैंकले एफवान सफ्टसँगको सहकार्यमा ‘ओरेन्ज एनएक्सटी’ सेवा सुरु गरेको थियो । यस सेवाअन्तर्गत मोबाइल एपबाटै खाता खोल्ने, मुद्दती खाता सञ्चालन गर्ने र ‘गोल–बेस्ड डिपोजिट’ जस्ता सुविधा दिने दाबी गरिएको थियो । यो पूर्ण डिजिटल सेवाले ग्राहकहरूलाई आधुनिक बैंकिङको अनुभव दिने अपेक्षा गरिएको थियो ।

तर, राष्ट्र बैंकको यो निर्णयले बैंकको डिजिटल रणनीतिमा धक्का लागेको छ। अहिले, बैंक र यसका ग्राहकहरू केन्द्रीय बैंकको अर्को कदमको प्रतीक्षामा छन् ।  डिजिटल बैंकको अवधारणाअनुसार चलाउन खोजेपछि नेपाल राष्ट्र बैंकले ओरेन्ज एनएक्सटी बन्द गरेको खुलेको छ । अहिले बैंक तथा वित्तीय संस्थाहरूलाई भुक्तानी सेवा प्रदायककै हिसाबले डिजिटल बैंकिङ्ग सञ्चालनको सुविधा दिएको छ। तर, ओरेन्ज एनएक्सटीले भने छुट्टै डिजिटल बैंकको अवधारणाको हिसाबले सञ्चालन गर्ने नियत राखेपछि अहिलेलाई बन्द गरेको केन्द्रिय बैंकका अधिकारीहरूले जानकारी दिएका छन् ।

चालु आर्थक वर्षमा सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत नियो बैंक स्थापनाको व्यवस्था गर्ने घोषणा गरेको थियो । तर, त्यसका लागि नेपाल राष्ट्र बैंक ऐन र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, बाफिया संशोधन गरी डिजिटल तथा नियो बैंकलाई इजाजत पत्र दिन अलग्गै व्यवस्था गर्नुपर्ने भएको केन्द्रिय बैंकका अधिकारीहरू बताउँछन् ।


सम्बन्धित समाचार