Logo

८ भदौ, वीरगञ्ज । वीरगञ्जमा सशस्त्र प्रहरी बलका ३५ जना जवानले ११ दिने ‘सेल्फ डिफेन्स’ (आत्मरक्षा) तालिम सफलतापूर्वक सम्पन्न गरेका छन्। सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साको आयोजनामा र वीरगन्ज तेक्वान्दो डोजाङको सहकार्यमा साउन २८ देखि भदौ ८ गतेसम्म यो तालिम सञ्चालन भएको थियो।

तालिममा १० महिलासहित कुल ३५ जना प्रहरी कर्मचारी सहभागी थिए। सहभागीमध्ये १३ गण हेडक्वार्टरबाट १० जना र मातहतका युनिटहरूबाट २५ जना थिए। तालिमको मुख्य उद्देश्य सुरक्षाकर्मीहरूको आत्मरक्षा क्षमता अभिवृद्धि गर्नु रहेको थियो।

समापन समारोहमा वक्ताहरूले आत्मरक्षा तालिमको महत्त्वबारे प्रकाश पारे। उनीहरूले सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरूलाई आपत्कालीन परिस्थितिमा सजग, सक्षम र प्रभावकारी ढंगले काम गर्न यस्ता तालिम अपरिहार्य रहेको बताए।

तालिम सञ्चालनमा वीरगन्ज तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक मोहम्मद वेशसहित ९ जना प्रशिक्षकको सहभागिता रहेको थियो। कार्यक्रममा आत्मरक्षाको अर्थ केवल तत्कालको प्रतिकार मात्र नभई सम्भावित खतराबाट जोगिने पूर्वतयारी पनि हो भन्ने सन्देश दिइएको थियो।

सशस्त्र प्रहरी बलले यस किसिमका तालिमले सुरक्षाकर्मीहरूलाई आत्मविश्वासी, दक्ष र जिम्मेवार बनाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता तालिमलाई निरन्तरता दिने योजना रहेको जनाएको छ।


सम्बन्धित समाचार