प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

८ भदौ,वीरगञ्ज । वीरगञ्जमा हैजाको प्रकोप बढ्दै जाँदा नारायणी अस्पतालमा बिरामीको चाप निकै बढेको छ। गत शुक्रबारदेखि आइतबार दिउँसो १ बजेसम्म झाडापखाला र हैजाका ५० जना बिरामी भर्ना भएका छन्, जसमध्ये ४४ जनालाई अस्पतालमा राखिएको छ। अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले दिएको जानकारीअनुसार, जाँच गरिएका २५ जना बिरामीमा हैजा रोगको पुष्टि भएको छ।

अस्पतालमा अहिले बेडको अभाव रहेको र दर्जनौं बिरामीलाई भुइँमा राखेर उपचार गर्नुपरेको डा. सिंहले बताएका छन्। झाडापखाला र हैजाका बिरामीहरूको उपचारका लागि वैकल्पिक वार्डको व्यवस्था गरिएको छ, जुन पूर्ण रूपमा भरिएको छ।

नारायणी अस्पतालमा झाडापखाला, हैजाका साथै सर्प दंश र अन्य रोगका बिरामीहरूको पनि उपचार भइरहेकोले बेडको अभाव बढेको हो। यसका साथै, अस्पतालमा जनशक्तिको पनि कमी रहेकोले उपचारमा थप चुनौती थपिएको छ।

डा. सिंहले बिरामीको चाप अझै बढेमा वैकल्पिक ठाउँको व्यवस्था मिलाउनुपर्ने बताएका छन्। अस्पतालले बिरामीहरूलाई ९० प्रतिशत औषधि निःशुल्क उपलब्ध गराइरहेको पनि उनले जानकारी दिए।


सम्बन्धित समाचार
भर्खरै