९ भदौ, काठमाडौं । विद्यालय शिक्षा विधेयक २०८० ले आफूहरूको मागलाई बेवास्ता गरेको भन्दै नेपाल शिक्षक महासंघ सोमबारदेखि पुनः आन्दोलनमा उत्रिएको छ।
विगतमा सरकारसँग भएका विभिन्न सहमतिलाई विधेयकले समेट्न नसकेको महासंघको आरोप छ। गत वैशाखमा एक महिना लामो आन्दोलन ९ बुँदे सहमतिपछि स्थगित भएको थियो। तर, भदौ ६ मा प्रतिनिधिसभामा पेस गरिएको विधेयकको मस्यौदामा ती बुँदाहरू कार्यान्वयन नभएको भन्दै महासंघले यसपटक माग पूरा नभएसम्म सडकबाट नफर्कने चेतावनी दिएको छ। महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विधेयकले शिक्षकको सेवा-सुविधा, स्थायित्व र अधिकारमाथि प्रहार गरेको आरोप लगाए।
आन्दोलनको पहिलो चरणमा आज प्रधानमन्त्री, शिक्षामन्त्री र प्रमुख राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण गराइनेछ। त्यसपछि भदौ ११ देखि २० सम्म देशभरका पालिका र जिल्लामा दुई घण्टा धर्ना दिने कार्यक्रम तय भएको छ। महासंघले अस्थायी शिक्षकको स्थायी पदपूर्ति, अध्यापन अनुमति पत्रको नवीकरण, विद्यालय कर्मचारीको तलब र स्थानीय तहमा शिक्षक दरबन्दी हस्तान्तरणको विरोध गर्दै आएको छ। लामो समयदेखि आफ्ना माग राख्दै आएका शिक्षकहरू फेरि आन्दोलनमा उत्रिएका हुन्। नेपाल शिक्षक महासंघले सरकारले ल्याएको ‘विद्यालय शिक्षा विधेयक’मा आफ्ना मागहरू समावेश नगरेको भन्दै सोमबारबाट आन्दोलन सुरु गरेको हो ।















