३० कात्र्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुरमा १८ दिनको स्वास्थ्योपचार गरी शुक्रबार राति स्वदेश फर्किएलगत्तै पार्टीभित्रको महाधिवेशन सम्बन्धी विवाद मिलाउन सक्रिय भएका छन् ।
फर्किएको भोलिपल्टै हिजोदेखि देउवाले पार्टी नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएका छन्, यद्यपि औपचारिक रूपमा कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई नै दिएका छन् ।
देउवाले हिजो बिहान कार्यवाहक सभापति खड्काबाट एक महिना लामो केन्द्रीय समिति बैठकमा भएको छलफल र महाधिवेशनका सन्दर्भमा देखिएको विवादबारे विस्तृत जानकारी लिएका थिए । निकट स्रोतका अनुसार, उनले खड्कालाई सकेसम्म मिलाएर अगाडि बढ्न सुझाएका थिए । त्यसपछि उनले प्रवक्ता डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की र एनपी साउदलगायतका नेताहरूसँग पनि भेटेर मिलेर अगाडि बढ्ने वातावरण मिलाउन निर्देशन दिएका छन् ।
पार्टीभित्रको विवादको चुरो १५ औँ महाधिवेशनको मिति रहेको छ। देउवा पक्षका सात पूर्वपदाधिकारीहरू (विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला र डा. महत) ले महाधिवेशन आगामी प्रतिनिधिसभा निर्वाचनपछि गर्नुपर्ने अडान राख्दै आएका छन् । तर, डा. शेखर कोइराला नेतृत्वको इतर समूह र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समूह भने निर्वाचनअघि नै महाधिवेशन हुनुपर्ने पक्षमा छन् । यही विवादका कारण गत असोज २८ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठक अनिर्णित बन्दै आएको छ।
देउवाले आज संस्थापन पक्षका ती सात पूर्वपदाधिकारीहरूलाई भेट्ने तयारी गरेका छन् । यद्यपि, भेटघाटको समय भने तय भइनसकेको एक पूर्वपदाधिकारीले जानकारी दिएका छन् । शनिबार देउवाको सुझावपछि कार्यवाहक सभापति खड्काले महामन्त्रीद्वय र अन्य केही नेताहरूसँग विवाद मिलाउने प्रयास गरे पनि कुरा मिल्न सकेको थिएन, जसले गर्दा विवाद जहाँको त्यहीँ रहेको बुझिएको छ।















