३० कात्तिक,काठमाडौं । नेपाल–भारत सीमाबाट दैनिक रूपमा आवतजावत गर्ने व्यक्तिहरूको विवरण (अभिलेख) राख्न भारतले नेपाललाई प्रस्ताव गरेको छ। नयाँ दिल्लीमा सम्पन्न नवौँ सीमा सुरक्षा समन्वयात्मक बैठकमा भारतीय गृह मन्त्रालयका सचिव गोविन्द मोहनले सो प्रस्ताव अघि सारेका हुन्। नाकाबाट आवतजावत गर्नेहरूको विवरण व्यवस्थापनबारे सचिव–स्तरमा निर्णय भने भइसकेको छैन।
बैठक सकेर सशस्त्र प्रहरी बलका आईजी राजु अर्यालसहितको नेपाली टोली नेपाल फर्किएको छ। छलफलमा सहभागी एक अधिकृतका अनुसार, “भारतीय पक्षले राखेको प्रस्ताव नेपालका गृहसचिवसमक्ष राखिनेछ, सहमति भएमा अभिलेख प्रणाली लागू हुन सक्छ,” उनले बताए।
सशस्त्र सीमा बल (एसएसबी)का महानिर्देशक सञ्जय सिंघलसँगको छलफलमा आईजी अर्यालले जनकपुरमा भएको जेनजी प्रदर्शनका क्रममा लुटिएका हतियार र जेलबाट भागेका कैदीबन्दी नियन्त्रणमा सहयोग मागेका थिए।
जवाफमा सिंघलले भने, “फोटोसहितको विवरण प्राप्त भएमा नियन्त्रणमा लिन र सहयोग गर्न हामी तयार छौँ।” उनका अनुसार, फरार अपराधी र लुटिएका हतियार भारत पक्षका लागि पनि चुनौती बनिरहेका छन्।
नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा १२ वटा एजेन्डामा छलफल र सहमति भएको छ।
दुवै देशले दशगजामा बनेका अवैध संरचना हटाउने, विपद् व्यवस्थापनमा सहकार्य गर्ने र दुवै सुरक्षा निकायबीच तालिम आदान–प्रदानलाई थप प्रभावकारी बनाउने सहमति गरेको एक उच्च अधिकारीले जानकारी दिए।















