Logo

३० कात्र्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिना अर्थात असोज मसान्तसम्मको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १ दशमलव ४७ प्रतिशतमा सीमित भएको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, यो न्यून मुद्रास्फीतिले अर्थतन्त्र सुस्त गतिमा रहेको संकेत गर्दछ । अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति ४ दशमलव २६ प्रतिशत थियो, जसको तुलनामा यस वर्ष उल्लेखनीय गिरावट आएको हो । त्रैमासको औसत मुद्रास्फीति १ दशमलव ६७ प्रतिशत रहेको छ ।

खासगरी, खाद्य तथा पेय पदार्थ समूह को मूल्यवृद्धि २ दशमलव ५४ प्रतिशतले ऋणात्मक देखिएको छ, जसको सीधा अर्थ आम उपभोक्ताको भान्साको खर्च सस्तो भएको देखिन्छ। यस समूहभित्र तरकारी उपसमूहको मूल्य सूचकांक १५।६३ प्रतिशतले घटेको छ, भने मरमसला र दाल तथा गेडागुडीको मूल्य पनि क्रमशः ७ दशमलव ८२ प्रतिशत र ४ दशमलव ४१ प्रतिशतले ओरालो लागेको छ। यद्यपि, घ्यु तथा तेल (७ दशमलव ७५ प्रतिशत), गैर–मदिराजन्य पेय पदार्थ (३ दशमलव ७१ प्रतिशत) र माछा तथा मासु (३ दशमलव १५ प्रतिशत) को मूल्य भने बढेको छ ।

अर्कोतर्फ, गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि भने ३ दशमलव ८० प्रतिशतले भएको छ। यस समूहअन्तर्गत विविध वस्तु तथा सेवा (१५ दशमलव ५१ प्रतिशत), शिक्षा (७ दशमलव ६७ प्रतिशत), कपडा तथा जुत्ता चप्पल (६ दशमलव २९ प्रतिशत) लगायतका उपसमूहको मूल्य बढेको छ । तथापि, बीमा तथा वित्तीय सेवाको मूल्य सूचकांक भने ० दशमलव २३ प्रतिशतले घटेको छ ।

क्षेत्रगत रूपमा हेर्दा, शहरी क्षेत्रमा १ दशमलव ५३ प्रतिशत र ग्रामीण भेगमा १ दशमलव २९ प्रतिशतको मात्र मूल्यवृद्धि भएको छ । प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी २ दशमलव ३३ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ० दशमलव ६९ प्रतिशत मुद्रास्फीति देखिएको तथ्यांकमा उल्लेख छ ।


सम्बन्धित समाचार