३० कात्र्तिक, काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र शपथ ग्रहण प्रक्रिया विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि आइतबारका लागि तोकिएको सुनुवाइ स्थगित भएको छ ।
आज हुने भनिएको अन्तरिम आदेश सम्बन्धी सुनुवाइ अब भोलि सोमबारका लागि सरेको सर्वोच्च अदालतले जनाएको छ । यो रिटमाथि न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेसी तोकिएको थियो । पछिल्लो समय अस्थिर रहेको मधेस सरकारमा सबैभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा सरकार गठन भएको थियो ।
तर, तत्कालीन प्रदेश प्रमुख सुमित्रा सवेदी भण्डारीले एमाले दलका नेता यादवलाई महोत्तरी र सिन्धुलीको सिमानामा पर्ने बर्दिबास नगरपालिका- ३ कालापानीस्थित पानस होटेलमा पुगेर शपथ खुवाएपछि यो विवाद चर्किएको थियो । सोही नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४ जना सांसदहरूले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।















