Logo

३० कात्र्तिक, काठमाडौं । विभिन्न राजनीतिक अभियानका माध्यमबाट चर्चामा आएका दुर्गा प्रसाईंको समर्थन रहेको ‘नागरिक बचाउ दल’ ले २७ सदस्यीय केन्द्रीय समितिसहित दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

पार्टीको सभापतिमा झापा निवासी ५० वर्षीय माधव प्रसाद खतिवडा प्रस्तावित छन् । उपसभापतिमा ईश्वरी प्रसाद भट्टराई (काठमाडौं) र देवीप्रसाद संग्रौला रहेका छन् । पार्टीको झण्डामाथि सेतो, तल रातो र बीचमा तारा अंकित चारकुने झण्डा प्रस्ताव गरिएको छ। दलले आफ्नो चुनाव चिह्न भने मान्छेको ‘जोडी पाइला’ लाई रोजेको छ ।

सभापति खतिवडाका अनुसार, ‘हामी भुइँ मान्छेका पुजारी हौं, त्यसैले भुइँ मान्छेको समृद्धिका लागि जोडी पाइला चुनाव चिह्न रोजेका छौं।’ यस पार्टीको पदाधिकारी र केन्द्रीय समितिमा दुर्गा प्रसाईंको नाम भने उल्लेख छैन । यस विषयमा सोधिएको प्रश्नमा सभापति खतिवडाले भने, ‘महत्वपूर्ण व्यक्तिले पर्दा पछाडि बसेर नै भूमिका खेलिरहेको हुन्छ। त्यसलाई त्यसैगरी बुझ्नुहोला ।’ यस भनाइले प्रसाईंको अप्रत्यक्ष भूमिका रहेको पुष्टि गर्दछ ।

पार्टीका प्रमुख पदाधिकारीहरूमा महामन्त्री प्रेम कुमार थाम्सुहाङ (झापा), सहमहामन्त्री विष्णु बोहोरा क्षेत्री (नवलपरासी पूर्व), कोषाध्यक्ष सुष्मा रेग्मी रिजाल (मोरङ) र प्रवक्ता प्रेम थापा मगर (पाल्पा) रहेका छन् ।


सम्बन्धित समाचार