Logo

३० कात्र्तिक, काठमाडौं । नेपालको निर्वाचन आयोगमा प्रतिनिधिसभा निर्वाचन घोषणा भएयता राजनीतिक दलको सङ्ख्या स्थिर रहेको छ।

निर्वाचन आयोगले आज सम्मको तथ्याङ्क सार्वजनिक गर्दै आयोगमा १२२ वटा राजनीतिक दल कायम रहेको जानकारी दिएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, अन्तरिम सरकारले निर्वाचन घोषणा गर्दा पनि दलहरूको सङ्ख्या १२२ नै थियो र आजको मितिसम्म पनि सोही सङ्ख्यामा दलहरू दर्ता छन् । यसबीचको अवधिमा ७ वटा राजनीतिक दल नयाँ दर्ता भएका छन् भने ७ वटा नै दल खारेज भएका छन्। खारेज भएकामध्ये एउटा दल अदालतको आदेशबाट र ६ वटा सम्बन्धित दलका पदाधिकारीले दिएको निवेदनका आधारमा आयोगले खारेज गरेको हो ।

यसका अतिरिक्त, अहिले २८ वटा राजनीतिक दल दर्ताको प्रक्रियामा ‘पाइपलाइन’ मा रहेको भट्टराईले जानकारी दिएका छन् । आयोगले ती २८ वटै दलका कागजात रुजु गर्ने र कानुनबमोजिम सनाखत गराउने काम गरिरहेको छ । आयोगले कागजात र सनाखत सम्पन्न भएपछि दर्ता प्रमाणपत्र प्रदान गर्ने गरी काम गरिरहेको बताएको छ । यद्यपि, दर्ताका लागि आएका दलहरू जेनजीका हुन् वा अन्य समूहका भन्नेबारे भने आयोगले वर्गीकरण नगरेको प्रवक्ता भट्टराईले स्पष्ट पारेका छन् ।


सम्बन्धित समाचार