३० कात्र्तिक, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनपश्चात् उपत्यकाभित्रका हिरासत कक्षहरूको मानव अधिकार अवस्थाबारे गम्भीर अनुगमन गरेको छ ।
कात्तिक २७ र २८ गते आयोगको टोलीले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न प्रहरी वृत्त तथा परिसरहरूका हिरासत कक्षहरूको स्थलगत अनुगमन गरी प्रतिवेदन सार्वजनिक गरेको हो । आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलका अनुसार, आन्दोलनपछि प्रहरी हिरासतमा मानव अधिकारको अवस्थाबारे गुनासा, उजुरी र ज्ञापनपत्रहरू प्राप्त भएका थिए ।
अनुगमनका क्रममा पक्राउ गरिएका जेनजी प्रदर्शनकारीहरूलाई स्वास्थ्य परीक्षण गरिएको पाइए तापनि हिरासतमा रहेका शौचालय तथा सरसफाइको अभावका कारण दुर्गन्ध फैलिएको र केही थुनुवाहरूले पक्राउ पुर्जी नदिइएको गुनासो गरेका छन् । साथै, केही हिरासतमा महिला कक्षको अभाव र भौतिक संरचनाको कमी रहेको पनि आयोगले जनाएको छ ।
हिरासतबाट भागेका थुनुवा र लुटिएका हतियार फिर्ता नहुँदा शान्ति सुरक्षामा चुनौती थपिएको ठहर गर्दै आयोगले हिरासतहरूमा विद्यमान समग्र समस्याहरूको समाधानमा गम्भीर हुन र क्षति पुगेका भौतिक संरचना निर्माण तथा थुनुवाका लागि आवश्यक सामग्री खरिद गर्न बजेट अभाव रहेको जानकारीलाई सम्बोधन गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।















