Logo

१३ पुष, काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक एवं वर्तमान सरकारका मन्त्री कुलमान घिसिङले मुलुकको बदलिँदो राजनीतिक परिवेशमा वैकल्पिक शक्तिहरूको सुदृढ एकताको आवश्यकता औँल्याउँदै सहकार्यका लागि आफूहरू खुला रहेको सन्देश दिएका छन् ।

आइतबार बिहान पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै घिसिङले देशमा नयाँ र सही नेतृत्व स्थापित गर्न छरिएर रहेका सबै वैकल्पिक शक्तिहरू एकै ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन् । नेपाली जनताले पनि सबै नयाँ शक्तिहरू मिलेर अगाडि बढून् भन्ने चाहेको उल्लेख गर्दै उनले सकेसम्म पार्टी एकता, नभए पनि चुनावी तालमेल वा कार्यगत एकता गरेर जानुको विकल्प नरहेको स्पष्ट पारेका छन् ।

रास्वपा सभापति रवि लामिछाने र काठमाडौँका मेयर बालेन शाहबीच सात बुँदे सहमति भई सहकार्यको नयाँ अध्याय सुरु भएकै दिन घिसिङको यो धारणा सार्वजनिक हुनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। केही समयदेखि बालेन शाहसँग सहकार्यका लागि संवादमा रहेका घिसिङ पछिल्लो सहमतिमा भने समेटिएका छैनन्। यद्यपि, उनले आफ्नो पार्टीको सम्मान र स्वाभिमानमा आँच नआउने गरी सबैसँग सहकार्य गर्न आफूहरू सदैव तयार रहेको बताएका छन् । उनले नयाँ र मूलधारका शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गर्दै जनताको चाहना अनुसारको नेतृत्व दिन आफूहरू पछि नहट्ने उद्घोष गरे ।

कार्यकर्ताहरूलाई आश्वस्त पार्दै घिसिङले सम्मानजनक उपस्थितिसहितको सहकार्यका लागि विभिन्न पक्षहरूसँग घनीभूत छलफल र गृहकार्य भइरहेको खुलासा समेत गरेका छन् । उज्यालो नेपाल पार्टीले आफ्नो छुट्टै पहिचान र आत्मसम्मानलाई कायमै राख्दै वृहत्तर हितका लागि लचकता अपनाउन सक्ने संकेत गर्दै उनले यो संवादको नतिजा केही दिनभित्रै सार्वजनिक हुने विश्वास व्यक्त गरे ।

राजनीतिक सरगर्मी बढिरहेका बेला कुलमानको यो लचकतापूर्ण तर स्वाभिमानी अडानले आगामी निर्वाचनको समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने विषय निकै रोचक बनेको छ।


सम्बन्धित समाचार