Logo

फाईल फोटो

२४ पौष, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि सरकारले निर्वाचन प्रहरीको भर्ना प्रक्रिया सुरु गरेको छ । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, भर्ना छनोट शाखाले आज एक सूचना जारी गर्दै एक लाख ३३ हजार ९८० जनाका लागि आवेदन आह्वान गरेको हो ।

भर्नाका लागि आवेदन यही पुस २५ गते शुक्रबारदेखि फागुन १ गतेसम्म दिन सकिनेछ । आवेदन देशभरका जिल्ला प्रहरी कार्यालयमार्फत बुझाउन सकिने व्यवस्था मिलाइएको छ । सूचनामा बिदा हुने दिनमा समेत आवेदन लिइने व्यवस्था रहेको जनाइएको छ। आवेदन दर्ता भएपछि मात्रै छनोट प्रक्रिया अगाडि बढाइनेछ ।

यो भर्ना प्रक्रियाले देशभरका युवालाई अस्थायी रोजगारको अवसर उपलब्ध गराउने र निर्वाचन सुरक्षा सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार भर्नाका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ ।

पूर्वसुरक्षाकर्मी, यसअघि म्यादी प्रहरीका रूपमा खटिएका, छिमेकी मुलुकका सुरक्षा निकायबाट अवकाश प्राप्त तथा शारीरिक र स्वास्थ्य परीक्षणमा उत्तीर्ण व्यक्तिलाई प्राथमिकता दिइनेछ । फौजदारी कसुरमा सजाय नपाएको र नैतिक पतन नभएको हुनुपर्ने मापदण्ड पनि तय गरिएको छ।

छनोट भएका निर्वाचन प्रहरीलाई १० दिन तालिम दिएर करिब एक महिनासम्म निर्वाचन सुरक्षामा परिचालन गरिनेछ। उनीहरूले ४० दिनको तलब पाउनेछन्, जुन प्रहरी जवान सरह हुनेछ। साथै पोसाक, चार दिनको खाजा भत्ता, तयारी भत्ता र रासन सुविधासमेत उपलब्ध गराइनेछ ।

यसअघि ‘म्यादी प्रहरी’ भनेर चिनिने जनशक्तिलाई यस पटक पहिलो पटक ‘निर्वाचन प्रहरी’ नाम दिइएको हो ।

यो पनि :

प्रतिनिधिसभा निर्वाचनका लागि १ लाख ४९ हजार निर्वाचन प्रहरीको भर्ना आज खुल्दै, शुक्रबारदेखि आवेदन दिन सकिने


सम्बन्धित समाचार
भर्खरै