२ माघ, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको दिगो स्थिरता र भ्रष्टाचार अन्त्यका लागि निर्वाचनमा हुने आर्थिक चलखेललाई समुदायस्तरबाटै निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
शुक्रबार बिहान नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलसँगको भेटघाटमा प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनलाई सामान्य प्रक्रियाका रूपमा मात्र नलिन आग्रह गर्दै यसलाई मुलुकको निकास र अग्रगमनको बलियो आधार बनाउनुपर्ने बताउनुभयो । निर्वाचनमा पैसाको बलमा मत किन्ने प्रवृत्तिले लोकतन्त्रलाई कमजोर बनाउने उल्लेख गर्दै उहाँले मतदाता स्वयं चनाखो भएर इमानदार र योग्य प्रतिनिधि छान्नुपर्ने धारणा राख्नुभयो ।
भेटका क्रममा प्रधानमन्त्रीले अबको राजनीति र शासन व्यवस्था युवाहरूको भावना र आकांक्षा अनुरूप चल्नुपर्ने बताउँदै पुराना सोच र शैलीबाट देश अघि बढ्न नसक्ने प्रष्ट पार्नुभयो । उहाँले आगामी चुनावमा नयाँ, ऊर्जावान् र निष्कलंक युवाहरूलाई संसद्मा पुर्याउन समुदायलाई आह्वान समेत गर्नुभयो । उहाँले भदौ २३ र २४ गतेका ऐतिहासिक सन्दर्भहरूलाई स्मरण गर्दै मुलुकमा पटक–पटक राजनीतिक संकट दोहोरिन नदिन सबै तह र तप्काको सहयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
नेपाल तामाङ घेदुङको टोलीले आगामी माघ ५ गते आयोजना हुने सोनाम ल्होसारको सांस्कृतिक महोत्सवमा प्रधानमन्त्रीलाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा दिँदै तामाङ समुदायको जनसांख्यिक र सामाजिक मुद्दाहरूबारे ध्यानाकर्षण गराएको थियो । घेदुङका पदाधिकारीहरूले पछिल्लो जनगणनामा तामाङ समुदायको वास्तविक जनसंख्याभन्दा निकै कम तथ्याङ्क देखिएको भन्दै त्रुटि सच्याउन माग गरेका थिए ।
प्रधानमन्त्री कार्कीले तामाङ समुदायको पहिचान र संस्कृतिको संरक्षणप्रति सरकार सकारात्मक रहेको बताउँदै कठिन परिस्थितिमा सरकारलाई साथ दिएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।















