२ माघ, काठमाडौँ । नेपाली कांग्रेसका संस्थापन पक्षीय नेता एवं कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवाका बारेमा भ्रमपूर्ण र झुटा कुरा फैलाएको आरोप लगाउनुभएको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता खड्काले पार्टीलाई विखण्डनको दिशामा लैजाने काम गगन–विश्व समूहबाट भएको र त्यसको दोष सभापतिलाई दिनु राजनीतिक बेइमानी भएको टिप्पणी गर्नुभयो ।
खड्काका अनुसार नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक भएलगत्तै विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको निष्कर्ष तत्कालीन महामन्त्रीहरूसँगकै बैठकले निकालेको थियो । तर, प्रतिनिधिसभा निर्वाचनको संघारमा र राष्ट्रिय सभाको उम्मेदवारी दर्ता भइसकेको संवेदनशील समयमा विशेष महाधिवेशनको नाममा समानान्तर गतिविधि गर्नुले पार्टीलाई कमजोर बनाउने उहाँको तर्क थियो । खड्काले भन्नुभयो, ‘उहाँहरूले उठाएका जायज मागहरू सम्बोधन गर्न सभापति सधैँ लचिलो हुनुहुन्थ्यो, तर पार्टी नै फुटाउने उद्देश्यका साथ विधानविपरीतका कामहरू गरिए।’
पत्रकार सम्मेलनमा खड्काले पुस ३० गते बिहान सभापति देउवा र महामन्त्रीहरूबीच भएको संवादको प्रसङ्ग समेत कोट्याउनुभयो । सभापतिले पार्टी विखण्डन रोक्नका लागि ‘तपाईँहरूले जसलाई भन्नुहुन्छ, उसैलाई उम्मेदवारको टिकट दिउँला तर पार्टी नफुटाउनुस’ अधिकतम सम्झौताको प्रस्ताव राख्दा पनि गगन–विश्व समूहले त्यसलाई लत्याएको खड्काको दाबी छ। राष्ट्रिय सभा र समानुपातिकको बन्दसूचीमा सभापतिकै हस्ताक्षर चलिसकेको अवस्थामा अहिले आएर आधिकारिकताको दाबी गर्नु अनैतिक भएको उहाँले बताउनुभयो ।
विधानले महामन्त्रीहरूलाई छुट्टै विशेष महाधिवेशन बोलाउने अधिकार नदिएको स्पष्ट पार्दै नेता खड्काले अहिलेको संकटपूर्ण अवस्थाको सिर्जना नेतृत्वका कारण नभई केही व्यक्तिको महत्त्वाकांक्षाका कारण भएको जिकिर गर्नुभयो । उहाँले निर्वाचन आयोगमा बुझाइएका हस्ताक्षरहरू फिर्ता हुनुले नै विशेष महाधिवेशनको वैधानिकता समाप्त भएको दाबी गर्दै कार्यकर्ताहरूलाई भ्रममा नपर्न आग्रह गर्नुभयो ।















